प्राधिकरणद्वारा उद्याेगीहरूसँग बक्याैताकाे दाेस्राे किस्ता माग | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

प्राधिकरणद्वारा उद्याेगीहरूसँग बक्याैताकाे दाेस्राे किस्ता माग

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगीहरूसँग फेरि दोस्रो किस्ता रकम माग गरेको छ । प्राधिकरणका वितरण केन्द्रहरूले सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्दै दोस्रो किस्ता पनि बुझाउन पत्र पठाएका हुन् ।

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पहिलो किस्ता बुझाएका उद्योगलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता सुरु गरिएको जनाएको छ । उद्योगीहरुका अनुसार प्राधिकरणले पठाएको पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै समयमै दोस्रो किस्ता बुझाउन भनिएको छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ ।

प्राधिकरणको ताकेतासँगै हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बापतको रकम बुझाइसकेका छन् । अशोक स्टीलले दोस्रो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको छ । यसअघि पनि कम्पनीले सोही बराबरको रकम पहिलो किस्तामा तिरेको थियो । अशोक स्टीलले प्राधिकरणलाई कुल १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ तिर्न बाँकी छ ।

त्यस्तै, सिमरा वितरण केन्द्र अन्तर्गतको हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ । १४ करोड १२ लाख ५ हजार रुपैयाँ कुल बक्यौता रहेको हुलासले २८ किस्ताको सुविधा लिएको हो । गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो ।

प्राधिकरणले लाइन काटेसँगै उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए । उच्च सरकारी तहमा भएको समझदारी अनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचारमा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरावलोकनको प्रक्रिया नब्युँताई नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ ।

Leave a Reply