काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग साेमबार साँझ बालुवाटारमा छलफल गर्नुभएको हो ।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको उहाँहरुको भनाइ थियो । भेटका क्रममा स्थानीय सरकार प्रमुखहरुले आफूहरुले भोगिरहेका समस्याका विषयमा पनि प्रधानमन्त्रीसमक्ष अवगत गराउनुभयो ।
उहाँहरुले आ–आफ्ना समस्या राख्दै यो सरकारले बोल्ड डिसिजन गर्न डराउन नहुने धारणा पनि राख्नुभयो । फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन पनि उहाँहरुले आग्रह गर्नुभयो ।
ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको समेत बक्यौता रहेको जानकारी दिँदै उक्त रकम राफसाफ गरिदिन अनुरोध गर्नुभयो।
त्यस्तै, सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले तिर्न सक्ने र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने उहाँको माग थियो ।
यस्तै, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उहाँहरुले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।





