काठमाडाैं । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ । अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरुले असंवैधानिक ठहर गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । राजनीतिक दलहरुले संसद विघटनलाई असंवैधानिक बताएपनि नेताहरुले भने सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । नेताहरुले निर्वाचनको विकल्प नभएको बताएपनि दुई ठूला दल नेपाली काँग्रेस र एमालेले भने आधिकारिक रुपमा निर्वाचनमा जाने सम्बन्धि निर्णय भने गरेका छैनन् ।
जेन–जी आन्दोलनले सत्ताच्युत भएको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक हाल जारी छ । नेकपा एमालेले भने संसद पुनःस्थापनामा नै जोड दिएको छ । अन्य साना राजनितिक दलहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । नेपाली काँग्रेसको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले निर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिनेमा सबै केन्द्रिय सदस्यहरुको मत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । गत असोजमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा संसद पुनःस्थापनाको निर्णयमा लेखाइएको भएपनि केन्द्रीय समितिमा संसद पुनःस्थापनाको विषयलाई एजेण्डा बनाइएको छैन ।
संविधानलाई सही ट्रयाकमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार पार्टीभित्र केही केन्द्रीय सदस्यहरु भने संसद पुनःस्थापनाबाट मात्रै समाधान खोज्नुपर्ने पक्षमा छन् । तर चुनावमा सहभागी हुने धारणा बलियो बन्दै गएको उहाँले बताउनुभयो । विशेष गरेर संसदमा रहेका नेताहरुले संसद पुनःस्थापनामा केही जोड दिएको उहाँको भनाई छ । उहाँले असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको पक्षमा अडान लिने नेताहरु अहिले केन्द्रिय समितिमा भने मौन रहेको बताउनुभयो ।
नेता शिवाकोटीले केन्द्रिय समितिमा निर्वाचनमा जाने आवाज बलियो बन्दै गएपनि पाटीको १५ औँ महाधिवेशनमा भने विवाद रहेको बताउनु भयो । महाधिवेशन निर्वाचन अगाडी गर्ने कि पछाडी गर्ने भन्नेमा केन्द्रिय सदस्यहरुमा मदभेद रहेको उहाँको भनाई छ । महाधिवेशनमा मतभेद रहेपनि निर्वाचनको सन्दर्भमा भने एकमत रहेको उहाँले जानकारी दिनुभयो ।
तीन धारमा विभाजित देउवा समूह
सभापति शेरबहादुर देउवा निकट नेताहरुबीच पनि आगामी महाधिवेशनको समयबारे तीन धार देखिएको नेता शिवाकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार केहीले फागुन २१ मा तोकिएको निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने, केहीले निर्वाचनपछि गर्नुपर्ने र केहीले बीचको बाटो खोज्नुपर्ने मत राख्नुभएको छ । संस्थापनइतरको पक्ष भने निर्वाचन अगाडी नै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने संस्थापन इतर पक्षको माग छ ।
विशेष गरी शेखर कोईराला र महामन्त्री गगन थापा पक्षधरका नेताहरुले महाधिवशेन गरेर निर्वाचनमा जानुपर्नेमा एकमत छन् । विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन् । त्यसैको आधारमा अहिले पार्टीभित्र नियमित वा विशेष महाधिवेशन पुस २९ भित्रै गर्नुपर्ने दबाब तिब्र बनेको नेता शिवाकोटीले बताउनु भयो । यसमा संस्थापन पक्ष भने तीन धारमा विभाजित भएको हो । संस्थापन पक्षका २६ जना केन्द्रिय सदस्य चुनाव अगाडी महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको उहाँले बताउनु भयो । अझै ५२ जनाले बोल्न बाँकी रहेकोले महाधिवेशनको विषय साझा निष्कर्षकै रुपमा बाहिर आउने उहाँको भनाइ छ ।
नियमित नभए विशेष महाधिवेशन हुने
महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको दफा १७ (२) अनुसार ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेकाले विशेष महाधिवेशन टार्न नसकिने अवस्था आएको शिवाकोटीले बताउनु भयो । उहाँले मंसिरभित्रमा नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशनको विकल्प नभएको दाबी गर्नुभयो । संसद पुनस्थापना होस् वा चुनाव नै होस्, दुवै अवस्थामा पुस २९ भित्र नियमित वा विशेष महाधिवेशन गर्ने उहाँको भनाइ । कार्यवाहक सभापति र मुख्यसचिवले हस्ताक्षर दर्ता गरिसकेकोले त्यसलाई बेवास्ता गर्न नमिल्ने उहाँको दाबी छ । ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार मंसिरमा नियमित महाधिवेशन गर्न नसकेको पुसमा विशेष महाधिवेशन गर्नुपर्ने शिवाकोटीले बताउनुभयो ।
उहाँले केन्द्रिय समितिले सर्वसम्वत रुपमा महाधिवेशन गर्ने निर्णय गर्ने विश्वास व्यक्त गनुभयो । विद्यानको विपरित कोही पनि जान नसक्ने उहाँको भनाइ छ ।
गालीगलौज गर्ने प्रवृत्ति बढ्यो
नेता शिवाकोटीले केन्द्रिय समितिको बैठकमा अमर्यादित हर्कत भएको पनि बताउनु भयो । पार्टीका व्यक्ति विशेष गाली लगौज, टिकाटिप्पणी भएको उहाँको भनाई छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्तक्षेप गनुपर्ने अवस्था समेत बैठकमा सिर्जना भएको उहाँले जानकारी दिनुभयो । उहाँले कार्यसम्पादनको आधारमा आलोचना गर्न पाइने भएपनि व्यक्तिगत रुपमा निन्दा गर्न नमिल्ने बताउनुभयो । उहाँले बैठकमा निन्दा र आलोचना छुट्याउन नसकेको पाइएको उल्लेख गर्नुभयो । उहाँले पार्टी सदस्यहरुलाई अनुशासन सिकाउन आश्वयक रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय जुनसुकै क्षेत्रमा पनि गालीगलौज गरेर चर्चामा आउने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । यसले समाजलाई नकरात्मक असर पार्ने उहाँको भनाई छ ।





