नयाँ नाम, पुरानै अनुहार : नेपाली कम्युनिष्ट पार्टीको चुनौती र सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

नयाँ नाम, पुरानै अनुहार : नेपाली कम्युनिष्ट पार्टीको चुनौती र सम्भावना

नवगठित नेपाली कम्युनिष्ट पार्टी वाम एकताको नयाँ प्रयास हो, तर यसको नेतृत्वमा पुरानै अनुहार र विगतका विभाजनकारी इतिहास बोकेका नेताहरू छन् । नवगठित पार्टीले नयाँ पुस्ताको ऊर्जा, विचार र जनताप्रतिको जवाफदेहिता आत्मसात् गर्न सकेन भने विगतमा भएका असफल एकताहरूजस्तै राजनीतिक प्रयोग मात्र बन्ने खतरा कायमै छ ।

 

नेपालको वाम राजनीतिमा फेरि नयाँ तरङ्ग उठेको छ । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायत १० वटा वाम घटकहरू एकै ठाउँमा आएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको घोषणा भएसँगै देशको राजनीतिक वृत्तमा पुनः चासो र बहस शुरु भएको छ । कागजमा एकताको उद्घोष जति उत्साहजनक देखिए पनि यसको नेतृत्वमा रहेका शीर्ष नेताहरूको उमेर, विगतका अनुभव र राजनीतिक व्यवहारले नयाँ पार्टीको स्थायित्व र प्रभावशालीताबारे गम्भीर प्रश्न उठाएको छ ।

पार्टीको नेतृत्व तहमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, महेन्द्र राय यादवलगायत सबै नेताहरू ७० वर्ष नाघेका अनुभवी राजनीतिक पात्र हुन् । उनीहरूले दशकौँदेखि नेपालको वाम राजनीतिलाई नेतृत्व दिएका छन्, तर दलभित्रको गुटबन्दी, अविश्वास र विभाजनका कारण पनि उनीहरु चिनिएका छन् । नेपालका कम्युनिष्ट दलहरूको इतिहास हेर्ने हो भने नेपाली कम्युनिष्ट आन्दोलन कहिल्यै लामो समयसम्म एकताबद्ध रहन सकेको देखिदैन । प्रत्येक एकतापछि केही वर्षभित्रै विभाजन, आरोप–प्रत्यारोप र नयाँ दलको जन्म हुने क्रम दोहोरिइरहेको छ । यही ऐतिहासिक पृष्ठभूमिले आजको नयाँ एकतालाई पनि शंका र अनिश्चितताको घेराभित्र राखेको छ । तर नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु भने एकढिक्का भएको बताउँछन् । देशमा भएका समस्या र चुनौतीको सामना गरी देशलाई नयाँ ढंगले अगाडि बढाउन नयाँ दल सक्षम रहेको उनीहरुले दाबी गरेका छन् ।

राजनीतिक अस्थिरता, जनतामा बढ्दो असन्तोष र पुराना दलप्रतिको अविश्वासबीच वामपन्थी दलहरूले फेरि एकता खोज्नु स्वाभाविक रुपमा एउटा सकारात्मक पक्ष हो । वाम आन्दोलनले इतिहासमा परिवर्तनका ठूला अभियानहरू सञ्चालन गरेको तथ्यलाई नकार्न सकिँदैन, चाहे त्यो २०४६ को जनआन्दोलन होस् वा २०६२÷६३ को जनआन्दोलन । तर यिनै आन्दोलनका उपलब्धिहरू जोगाउने र जनतामा फेरि विश्वास जगाउने जिम्मेवारी पनि यिनै नेताहरूको काँधमा छ ।

आजको पुस्ता, विशेष गरी जेन जेड पुस्ता राजनीतिक चेतनाको नयाँ रूप बोकेर अघि बढिरहेको छ । उनीहरूलाई पुरानो शैलीका भाषण, आदर्श र वादभन्दा बढी पारदर्शिता, जवाफदेहिता र परिणाम चाहिन्छ । यही पुस्ता अहिलेका राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको माग गर्दै सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय छ । तर नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा युवाहरूको निर्णायक उपस्थितिको अनुभूति छैन, शीर्ष तहमा फेरि पनि पुरानै नेताहरूको वर्चस्व देखिएको छ । नेपाली राजनीतिमा देखिएको सबैभन्दा ठुलो रोग भ्रष्टाचार र कुशासनको विरुद्ध नयाँ पुस्ताको मन जितेर अघि बढ्ने उनीहरु बताउँछन् तर व्यवहारमा कस्तो गर्छन् त्यो भने हेर्न बाँकीनै छ ।

यदि नयाँ गठन भएको नेपाली कम्युनिष्ट पार्टीले फरक पहिचान बनाउन चाहन्छ भने विगतका गल्तीहरू दोहो¥याउने होइन, त्यसबाट सिक्ने साहस देखाउनुपर्छ । पार्टीभित्र पाका नेताहरूको अनुभवलाई सम्मान गर्दै युवा पुस्ताको सोच र जोशलाई संस्थागत भूमिकामा ल्याउन सके मात्र यो एकता दीर्घकालीन बन्न सक्छ । वामपन्थी विचारधाराले जनताको हितका कुरा गर्ने भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नजान्दा जनताको विश्वास गुमाउँदै आएको छ ।

नेपालको राजनीतिक परिदृश्यमा दलहरूको भीड बढ्दै छ, तर नेतृत्वको गुणस्तर र दृष्टिकोण संकुचित हुँदै गएको छ । यही कारण जनतामा ‘सबै नेताहरू एउटै हुन्’ भन्ने निराशा बढ्दो छ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले नेपाली माटो सुहाउदो सिद्धान्त र कार्यशैली अपनाएर युवाको भरोसा लिएर अघि बढ्न आवश्यक छ ।

Leave a Reply