माधव नेपालको पार्टीलाई बागलुङका चार जनप्रतिनिधिको साथ | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

माधव नेपालको पार्टीलाई बागलुङका चार जनप्रतिनिधिको साथ

बागलुङ । बागलुङका चारजना स्थानीय तहका जनप्रतिनिधिले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित दुई वडा अध्यक्षसहित चारजनाले नयाँ पार्टी रोजेका हुन् । 

बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्य, ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष हरिबहादुर घर्ती, वडा सदस्य यामु कामी र बागलुङ नगरपालिका-१० की महिला सदस्य सीता थापाले नयाँ पार्टी रोजेका हुन् । 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको आन्तरिक विवाद उत्कर्षमा पुग्ने बेलासम्म माधव नेपाल पक्षमा देखिएका जनप्रतिनिधि विभाजनको विपक्षमा छन् । 

एमालेको नेतृत्वले पार्टीलाई विधि, विधान, संगठनभन्दा पनि व्यक्तिगत सोच, विचार र आवेगको भरमा सञ्चलन गर्दा नयाँ पार्टी रोज्नुपरेको ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष घर्तीको भनाइ छ । पार्टीमा नीति, थिति र विधि कायम राख्न नयाँ पार्टी रोजेको उनको प्रतिक्रिया छ । 

एमालेको तर्फबाट निर्वाचित प्रतिनिधिसभा, गण्डकी प्रदेशसभा, नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसहित अधिकांश वडाध्यक्ष तथा वडा सदस्य विभाजनलाई साथ नदिने पक्षमा रहेको एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मनकुमारी जिसीले बताइन् । 

मंगलबार ५ बजेसम्म थप जनप्रतिनिधि सनाखत गर्न नआए पुरानै दलको सूचीमा रहने जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा गोकुल शर्माले बताए । एमाले  र जनता समाजवादी पार्टी विभाजित भएपछि निर्वाचन आयोगले २२ भदौसम्म दल रोज्न समय दिएको थियो । 

बागलुङका १० वटै स्थानीय तहलाई पत्र पठाउँदै निर्वाचन कार्यालयले सनाखत गर्न इच्छुक जनप्रतिनिधिलाई बोलाएको हो । सनाखतमा जाने जनप्रतिनिधिले निर्वाचन आयोगबाट जारी प्रमाणपत्र, मतदाता परिचयपत्र र नागरिता तथा स्थानीय तहबाट जारी परिचयपत्र पेस गर्नुपर्छ ।

बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमति पुन र जैमिनी नगरपालिका उपप्रमुख लीला रानाले एमालेमै रहने बताएका छन् । 

यसैबीच, एमाले जिल्ला कमिटी सचिव लालबहादुर थापा एकीकृत समाजवादी पार्टीको संयोजक चयन भएका छन् । नवगठित एकीकृत समाजवादी पार्टीलाई  पुराना नेताहरू संविधानसभा सदस्य रामजीप्रसाद शर्मा र जिल्लाका पूर्वअध्यक्ष श्रीप्रसाद शर्माले भने साथ दिएका छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);