एकीकृत समाजवादीको पहिलो प्रदेश बैठक आइतबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एकीकृत समाजवादीको पहिलो प्रदेश बैठक आइतबार

पोखरा । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पोखरामा पहिलो प्रदेशस्तरीय बैठक गर्ने भएको छ । आउँदो आइतबार ११ वटै जिल्लाबाट जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरु बोलाएर बैठक आयोजना गरिएको हो । अहिले समाजवादी जिल्लामा संगठन विस्तारमा व्यस्त छ । ११ मध्ये ९ वटा जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको छ । ९ वटै जिल्लामा कमिटी गठन भैसकेको केन्द्रीय सदस्य श्रीनाथ बरालले जानकारी दिए ।

उनका अनुसार प्रदेशस्तरीय बैठकले पार्टीलाई नयाँ जागरण दिनेछ । केशवलाल श्रेष्ठ गण्डकीको पार्टी इन्चार्ज तोकिएका छन् । अहिले जिल्ला जिल्लामा संगठन विस्तारका लागि बैठक भैरहेको छ । बैठकको अध्यक्षता पनि श्रेष्ठले नै गर्नेछन् । गण्डकीबाट मनोनितसहित १४ जना केन्द्रीय सदस्य छन् । आइतबारको बैठकले ५१ जनाको प्रदेश कमिटी सिफारिस हुने बरालले बताए । ‘निर्णय केन्द्रबाटै हुने हो । त्यो बैठकले सिफारिस पठाउँछ,’ उनले भने, ‘जिल्लामा संगठन विस्तार कसरी गर्ने र पार्टीलाई कसरी मजबुत बनाउने भन्ने विषयमै छलफल केन्द्रीत हुन्छ ।’

गण्डकीबाट ४० जनामात्रै स्थानीय जनप्रतिनिधिले एमाले छोडेर नयाँ पार्टी रोजेका छन् । सबैभन्दा धेरै तनहुँका १३ जना छन् । नवलपुर, मनाङ र लमजुङका कोही पनि जनप्रतिनिधिले एमाले छोडेनन् । एकजना गाउँपालिका उपाध्यक्षबाहेक त्यसभन्दा माथिल्ला पदका कोही पनि एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । यहाँ एमालेका २७ सांसद छन् । सबै एमालेमै एकढिक्का छन् ।

चुनावको समयमा टिकट वितरणमा विभेद गरेका कारण अहिले धेरै जनप्रतिनिधि आफूहरुसँग नभएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । १२ जना वडाध्यक्ष र २७ वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले नयाँ पार्टी रोजेका हुन् । विभाजनले गण्डकीमा आफूहरुलाई खासै असर नपरेको एमाले इन्चार्ज किरण गुरुङले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);