काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको भ्रष्टाचार विरोधी माग र भावना विपरित माओवादी केन्द्र र एकीकृत समाजबादीबीच हुन लागेको एकतालाई स्वीर्कान नसकेको बताउनुभएको छ । उहाँले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रुपान्तरण गर्ने, पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनतातिर जवाफदेही हुने, विधिपद्धति लागू गर्ने, पार्टीलाई समग्र रुपले पुनःगठन गरेर अगाडि बढ्ने गरी आफू लागेको भएपनि सफल हुन नसकेको बताउनुभयो ।
उहाँले नेतातन्त्र, भ्रष्टाचार विरोधी जगमा जेन-जी विद्रोह भएकाले यसलाई स्वीकार गर्दै पार्टीलाई रुपान्तरण गर्ने कोसिसहरु पार्टीभित्र असफल भएको उहाँको भनाइ छ । उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाउनुभयो ।
सीमित एक वा दूई नेताहरुको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्नेगरी एकताको नाटक गरिएको उहाँको भनाइ छ । उहाँले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरु भइरहेको बताउनुभयो ।
त्यस्तै, नेता नारायणकाजी श्रेष्ठले जेन जीसहितका युवा पुस्तालाई सामेल गरेर अघि बढन आफूहरुलाई पार्टी एकीकरणको अभियानलाई अघि बढाएको बताउनुभएको छ । पार्टी राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोल्दै उहाँले जेन-जी आन्दोलनको मुद्दालाई आत्मासात गरेर उनीहरुलाई पनि सामेल हुनेगरी नौ वटा कम्युनिष्ट पार्टीहरुबीच एकीकरणको काम गर्नुपरेको बताउनुभएको हो ।
उहाँले नेकपा एकीकृत समाजवादीसहितका नौ वटा कम्युनिष्ट पार्टीहरुको बीचको एकीकरण नेपालको कम्युनिष्ट पार्टीहरुको एकीकरणको कोशेढुंगा सावित हुने दाबी समेत गर्नुभयो । नेता श्रेष्ठले राष्ट्रिय, सुशासन, समृद्धि र समाजवादीको आधार निर्माणको पक्षमा आउने सबै कम्युनिष्ट शक्तीहरुलाई आफूहरुले एकीकृत गर्दै अघि बढ्ने लक्ष्य लिएको जिकिर समेत गर्नुभयो ।
नेता श्रेष्ठले नेपालको समृद्धिका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो ।





