काठमाडाैं । आज कात्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ शनिवारदेखि शुरू भएको हो ।
आज बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । यसलाई मैथिल भाषाामा ‘सझुका अरख’ भनिन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको हो ।
त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको बताइन्छ । मुख्य दिन शुक्ल षष्ठी भए पनि छठ चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ ।
दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । कात्तिक शुक्ल षष्ठीका दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने गरिन्छ । आज रातभर जागा बसी सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
२०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय पर्व नै भइसकेको छ । २०४६ सालदेखि यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।





