काठमाडौँ,२६ माघ । पछिल्लो समय निकै प्रयोगमा आएको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहका उपकरण बिग्रिएपछि सञ्चालनमा समस्या आएको छ । शवदाह गर्ने तीन उपकरणमध्ये दुइटा बिग्रिएर थन्किएपछि गृहले आएजति शवदाह गर्न सकेको छैन ।
गत मंसिर महिनाभरि गृहको सेवा अवरुद्ध थियो । अन्तिम संस्कारका लागि ल्याइएका सबै शव फिर्ता भए । भारतबाट प्राविधिक झिकाएर मर्मत गरिएका उपकरण केही दिनमै बिग्रिएपछि हाल एउटामात्रै सञ्चालनमा छ । पशुपति विकास कोषका प्रशासन प्रमुख कुमार थापा मगर भन्छन्, ‘भएको एउटा पनि बिग्रिरहन्छ, धेरै दिन चल्न सक्ने अवस्था छैन ।’
कोषले ०७२ माघदेखि शवदाह गृह सञ्चालनमा ल्याएको हो । सुरुमा दैनिक २२ वटासम्म शवदाह हुन्थ्यो । अहिले दिनमा मुस्किलले ९ शवदाह हुन्छन् । प्रमुख मगर भन्छन्, ‘भएको एउटा मेसिन पनि कहिले बिग्रिन्छ भन्न सकिंदैन, वैकल्पिक सेवाका लागि राखिएका मेसिन पनि बिग्रिसके ।’
गृहका मेसिन चालू हुँदा शवदाह सेवा चौबीसै घण्टा सञ्चालनमा थियो । अहिले सेवा १२ घण्टामा खुम्चिएको छ । बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म मात्रै शवदाह गरिन्छ । गृहका कर्मचारी सुवास कार्की भन्छन्, ‘दैनिक ४\ ५ शव त फिर्तै गर्नुपर्नेस्थिति छ, चाहेर पनि सेवा दिन सकेका छैनौं ।’
विद्युतीय प्रविधिबाट शवदाह गर्नेतर्फ भने जनचासो बढ्दो छ । विद्युतीय शवदाहको संख्यामा पनि वृद्धि भएको देखिन्छ । गत भदौसम्म गृहबाट ५ हजार ७ सय ३६ शवदाह भएका थिए । माघसम्म आइपुग्दा शवदाहको संख्या बढेर ६ हजार ८ सय १९ पुगेको छ । मगर भन्छन् ‘बढ्दो आकर्षणलाई धान्न सक्ने गरी गृहको क्षमता वृद्धि गर्न सकिएको छैन ।’
परम्परागत शैलीभन्दा विद्युतीय पद्धतिबाट शवदाह गर्न थोरै समय र कम खर्च लाग्ने हुँदा यसतर्फ आकर्षण बढेको हो । दाउराबाट शव जलाउन ३र४ घण्टा लाग्छ, विद्युतीय पद्धतिबाट ४५ मिनेटमै शवदाह हुन्छ । खर्च पनि आधाभन्दा कम लाग्छ । दाउराबाट कम्तीमा पनि १५ हजार लाग्ने खर्च विद्युतीयबाट गर्दा चार हजारमात्रै तोकिएको छ । बाँसका खट बनाउन अतिरिक्त तीन सय रुपैयाँ लाग्छ । दस वर्षमुनिका बालबालिकाको त झन् दुई हजारमात्रै शुल्क लाग्छ ।
गृहले एक करोड ६० लाखमा खरिद गरेको उपकरण समयमा मर्मत हुन सक्दैनन् । सेवा चल्ने र बन्द हुने क्रम चलिरहन्छ । गृहका प्राविधिक कर्मचारी नरबहादुर पुरी भन्छन्, ‘भारतबाट ल्याइएका मेसिन भएकाले मर्मत गर्ने जनशक्ति पनि उतैबाट बोलाउनुपर्छ, त्यति टाढाबाट भन्नेबित्तिकै उनीहरू आउन सक्ने स्थिति हुँदैन, सामान मगाउँदा तीन महिनामा आइपुग्छ ।’ उपकरण बिग्रिएपछि एकपटकमा मर्मत गर्न न्यूनतम पनि डेढ लाख खर्च लाग्ने गरेको उनले सुनाए ।
गृहभित्र चिस्यान केन्द्र पनि छ । केन्द्रमा २५ वटासम्म शव अटाउन सक्ने फ्रिज छ । मगर भन्छन्, ‘दाहसंस्कारका लागि आफन्त आउन ढिला भएमा शवचिस्यान केन्द्रमा राखिन्छ, सात दिनसम्म कुर्न मिल्छ ।’ चिस्यानमा शव राख्न दिनको सात सय रुपैयाँ शुल्क लाग्छ ।
विद्युतीय शवदाह प्रयोग गर्नेमा धेरैजसो राई, नेवार र लामा जाति बढी भएको मगरले बताए । ‘काठमाडौंका बाहुनजाति अझै पनि परम्परागत दाहसंस्कार नै गर्न रुचाउँछन्, उनीहरू कमै मात्रामा आउँछन्,’ उनले भने । विद्युतीय शवदाह गृहले वाग्मती सफाइमा सहयोग पुग्न थालेको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । ‘दाउरामा शव जलाउँदा धूवाँले अत्यधिक प्रदूषण बढाएको थियो, अहिले दुर्गन्ध कम र वाग्मतीको स्वच्छतामा केही सुधार आएको छ,’ उप्रेतीले भने । यसलाई बढी प्रयोगमा ल्याउन सके वनजंगल जोगाउनसमेत सघाउ पुग्ने उनको भनाइ छ ।आजको कान्तिपुरमा यस्तो खवर छ ।