काठमाडाैं । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा नभई निषेध र प्रतिशोधको बाटो अपनाएर वातावरण बिगार्न उद्यत भएको निष्कर्ष निकालेको छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा करिब १० घण्टा चलेको एमाले सचिवालय बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै अदालत जाने र लोकतन्त्र तथा संविधान पक्षधर दलहरूसँग संसद् पुनर्स्थापनाका लागि संवाद गर्ने निर्णय गरेको छ ।
बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले पार्टी र नेताहरूलाई गतिविधि गर्न नदिएर चुनावी माहोल धमिल्याउने प्रयास गरेको बताउनुभयो ।
यसैगरी, बैठकले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २९ सम्म चितवन वा काठमाडौं उपत्यकामा गर्ने निर्णय गरेको छ ।
महाधिवेशन नयाँ नेतृत्व चयन, राजनीतिक प्रतिवेदन पारित र संगठनात्मक रणनीति निर्माणमा केन्द्रित हुनेछ तीन दिनदेखि जारी एमाले पदाधिकारी बैठकले महाधिवेशन र संगठनात्मक पुनर्गठनका विषयलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ सम्म काठमाडौंमा बस्ने तय भएको छ ।





