मिथ्या सूचनाको बढ्दो बिगबिगी : समाजमा भ्रम, अविश्वास र तनाव सिर्जना | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

मिथ्या सूचनाको बढ्दो बिगबिगी : समाजमा भ्रम, अविश्वास र तनाव सिर्जना

काठमाडाैं । सूचनाको युगमा बाँचिरहेका हामी प्रत्येक दिन अनगिन्ती सूचना र समाचारको बाढीमा भिजिरहेका हुन्छौँ। सामाजिक सञ्जाल, अनलाइन मिडिया, भिडियो प्लेटफर्महरू र च्याट एपहरूबाट आउने यी सूचनाहरूले हाम्रो धारणा, निर्णय र व्यवहारमा गहिरो असर पार्छन्। तर यति ठूलो मात्रामा सूचना आउने क्रममा सत्य र असत्य छुट्याउन नसक्दा हामी मिथ्या सूचनाको शिकार बन्दै गइरहेका छौं जसले आगामी दिनमा खतराको संकेत गरिरहेको छ ।

पछिल्लो समय नेपालमा जानाजानी गलत नियतका साथ झुटा सूचना फैलाउने प्रवृत्ति विकृतिको रुपमा बढीरहेको छ । मिथ्या सूचना दिनेको बिगबिगी बढ्दो छ । सामाजिक सञ्जालको सहज पहुँच, डिजिटल साक्षरताको कमी र राजनीतिक तथा वैचारिक ध्रुवीकरणले गर्दा गलत सूचना सजिलै फैलिन थालेको छ। विभिन्न युट्युब च्यानल, फेसबुक पेज र टिकटक प्रयोगकर्ताहरूले भ्युज बढाउनकै लागि अथा प्रचारकै लागि बिना प्रमाणका समाचार, भ्रामक विवरण र अतिरञ्जित सामग्री सार्वजनिक गरिरहेका छन्।

निर्वाचन, महामारी, ठूला दुर्घटना वा विवादास्पद घटनाका बेला झन् मिथ्या सूचना तीव्र रूपमा फैलिन्छ, जसले जनमानसलाई भ्रमित पार्नुका साथै सामाजिक तनाव र गलत धारणा सिर्जना गरिरहेको छ । यस्तो प्रवृत्तिले सूचना प्रवाहको विश्वसनीयता मात्र होइन, लोकतान्त्रिक अभ्यासमा समेत चुनौती उत्पन्न गरिरहेको छ । मिथ्या सूचना धेरै हुँदा समाजमा गम्भीर असर पार्छ । जब मानिसहरू गलत वा भ्रामक सूचनामा विश्वास गर्न थाल्छन्, तब सामाजिक सौहार्दमा दरार उत्पन्न हुन्छ, अविश्वास र द्वेष फैलिन्छ।

यसले व्यक्ति र समुदायबीच भ्रम, डर र आक्रोश पैदा गराउँछ, जसले सामाजिक एकता कमजोर बनाउँछ। विशेष गरी स्वास्थ्य, राजनीति वा धर्मजस्ता संवेदनशील विषयमा फैलिएको झुटा सूचना हिंसा र द्वन्द्वको कारण बन्न सक्छ । उदाहरणका लागि कोरोनाको महामारी हुँदा तातो पानी पिएर कोरोना भगाउने कुरा भ्रम भएपनि लाखौँ मानिसले यसलार्य सत्य मानेक थिए । चुनावका बेला फलानो उम्मेदवारको विजय सुनिश्चित भएको छ भन्दै मतदातालाई प्रभावित पार्ने प्रयासहरू सामाजिक सञ्जालमा व्यापक देखियो र भोगियो पनि । पुराना घटनाका तस्बिरहरू हालको सन्दर्भमा प्रयोग गरी झुटो सन्देश फैलाइन्छ ।

विदेशमा भएको हिंसात्मक प्रदर्शनको फोटो प्रयोग गरी नेपालमा आन्दोलन भैरहेको झुटा दाबीहरु प्नि प्रशस्तै छन्, जसले आन्दोलन उकास्न सक्छ । केही अध्ययन अनुसन्धानले मिथ्या सूचनाहरु नेपालमा मात्र नभई धेरै विकसित देश र विकासशील देशहरूमा पनि फैलिरहेका छन् । अमेरिकामा करिब ६४ प्रतिशत मानिसले झुटा समाचारले भ्रमित गरेको अनुभव गरेको तथ्य छ । मिथ्या समाचारको धेरै प्रभाव विकासशिल राष्ट्रहरुमा परेको छ जहाँ डिजिटल साक्षरता कम छ । फेसबुकले सन् २०२२ मा मात्रै ३ बिलियन भन्दा बढी झुटा सामग्री हटाएको दाबी गरेको छ ।

यस्ता सूचनाबाट जोगिन सचेत नागरिक, जिम्मेवार मिडिया र प्रभावकारी नीति निर्माण अपरिहार्य हुन्छ । नेपालमा मिथ्या सूचना दिनेको बिगबिगी हटाउन सुरुमा डिजिटल साक्षरता बढाउन शिक्षा प्रणालीमा सूचना मूल्यांकन गर्ने सीपको समावेश गर्नुपर्छ, ताकि नागरिकहरूले सत्य र असत्य छुट्याउन सकून्। यस्तै फ्याक्ट–चेक गर्ने स्वतन्त्र संस्थाहरूलाई प्रवद्र्धन गरी तिनको पहुँचलाई गाउँ–सहरसम्म विस्तार गर्नु आवश्यक छ । सामाजिक सञ्जाल प्लेटफर्महरूलाई उत्तरदायी बनाउँदै झुटा सामग्री छिटो हटाउने प्रणाली विकास गर्न दबाव दिनुपर्छ। साथै, जानाजानी मिथ्या सूचना फैलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर प्रभावकारी साइबर ऐन कार्यान्वयन गर्नुपर्छ।

अन्ततः पत्रकारिता क्षेत्रमा नैतिकता र पेशागत उत्तरदायित्व कायम राखेर सत्य सूचना मात्र प्रवाह गर्न प्रेरित गर्नुपर्छ । हामी आफैले पनि कुनै सामग्री वा स्रोतको यथार्थता जाँच्ने बानी बसाल्न सक्छौं भने शीर्षक मात्र पढेर निष्कर्षमा पुग्ने बानी हटाउन सक्छौं । भावनामा बहिएर सूचना सेयर गर्नुभन्दा अगाडी यसको सत्यमाबारे तीन पटक सोचौं । हामी सबैले मिथ्या सूचना विरुद्धको यो लडाइँमा आ-आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह ग¥यौं भने मात्रै पनि सशक्त, न्यायपूर्ण र सूचनामूलक समाज निर्माण सम्भव हुनेछ ।

Leave a Reply