एजेन्सी,२५ माघ । जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति भएको छ । जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू\ सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो ।
यो सहमतिसँगै चार महिना लामो गतिरोध अन्त्य हुने भएको छ । गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू\ सीएसयू पार्टीले पराजय बेहोरेपछि राजनीतिक गतिरोध उत्पन्न भएको थियो । जर्मनीमा निर्वाचन भएको चार महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । सहमति भएसँगै अब केही दिनमै नयाँ गठबन्धन सरकार बन्ने भएको छ ।
गठबन्धन सरकार गठनको सहमतिसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ । एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । जर्मनीका सञ्चारमाध्यमहरुले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।