रसुवागढी–सान्जेनको अढाइ अर्बको सेयर आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं,२५ माघ । रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरुका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।

रसुवा जिल्लामा निर्माण भइरहेका १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन आयोजना निर्माण गरिरहेको सान्जेन जलविद्युत कम्पनीले करिब दुई अर्ब ५२ करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेड मुख्य प्रवद्र्धक रहेको रसुवागढी जलविद्युत् आयोजनाले आगामी आइतबार आह्वानपत्र निष्कासन गर्ने योजना रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

उक्त आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतको सर्वसाधारण समूहका सेयरधनीलाई छुट्ट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह का कर्मचारीका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि एक प्रतिशत गरी जम्मा २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति २०६८ मंसिर २२ गतेसम्म बहाल रहेका र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको गत पुस २० सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको लागि छुट्ट्याइएको सय रुपैयाँ अंकित दरका एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि फागुन ११ देखि ३० सम्म आवेदन दिन सक्नेछन् । कम्पनीका संस्थापक संस्थाहरु नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीको लागि छुट्ट्याइएको सय रुपैयाँ अंकित दरका २३ लाख ९४ हजार सात सय ३५ कित्ता सेयर तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि छुट्ट्याइएको सय रुपैयाँ अंकित दरका ६ लाख ८४ हजार दुई सय १० कित्ता सेयरका लागि चैत ५ गतेदेखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम पाँच सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यसैगरी, कर्मचारी सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम २५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

उक्त सेयर निष्कासन तथा बिक्री वितरणका लागि हाल धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ लागू भइसकेको र उक्त निर्देशिकाको व्यवस्था बमोजिम सेन्ट्रलाइज एप्लिकेसन फर आस्बा बेस इसुयन्स सी– आस्बा मार्फत आवेदन संकलन गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले उक्त कार्यका लागि तोकिएका योग्य आवेदकले मात्र आवेदन दिन सकून् भनेर आवेदकको विवरण संकलन गरी सिडिएससीको सिस्टममा अपलोड गर्ने व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिए ।

यसका लागि आवेदकले देशभरी रहेका सी–आस्बा सेवा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताको हकमा सञ्चयकर्ता परिचयपत्र पेस गरी आवेदन दिनुपर्नेछ । साथै आवेदकको डिम्याट खाता पनि अनिवार्य रहेको छ ।कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्ट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार एक सय कित्ता सेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्ट्याइएको १५ प्रतिशत अर्थात एक करोड दुई लाख ६३ हजार एक सय ५० कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको अधिकृत पुँजी सात अर्ब तथा जारी पुँजी ६ अर्ब ८४ करोड २१ लाख रहेको छ । कम्पनीका संस्थापक सेयरधनी समूहले कबोल गरेको ५१ प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरका तीन करोड ४८ लाख ९४ हजार सात सय १० कित्ता सेयरको जम्मा तीन अर्ब ४८ करोड ९४ लाख ७१ हजार रुपैयाँ चुक्ता गरिसकेका छन् । उक्त संस्थापक सेयरधनी समूह अन्तर्गत चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३२.७९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक सेयर रहेको छ ।कम्पनीले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रकमबाट आयोजना निर्माणको लागि आवश्यक वित्तीय व्यवस्था गरेको छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ र २ मा निर्माणाधीन आयोजनाको अनुमानित लागत विद्युत् खरिद बिक्री सम्झौता पिपिए बमोजिम १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ । उक्त लागत अनुमान तयार पारेको समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन भएको, भूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायत कारणहरुले निर्माण प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने अवधि समेत बढ्न गएकोले आयोजनाको लागत केही बढ्न जाने देखिएको कोइरालाले बताए ।

आयोजनाले २०७६ साल पुस १५ देखि विद्युत उत्पादन सुुरु गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । आयोजनाबाट वार्षिक रुपमा ६१ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः आठ रुपैयाँ ४० पैसा र चार रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । उक्त कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न आयोजनाका प्रमुखलाई निर्देशन दिए । ‘कुनै बहाना बनाएर आयोजना निर्माणमा ढिलाइ गर्र्नु हुँदैन,’ उनले भने, ‘आयोजनाबाट बिजुली उत्पादन भएपछि ऊर्जा संकट समाधान हुनेछ ।’ यसैगरी, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु का कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोष०का कर्मचारीका लागि क्रमश १९.५, ३.५ र १ प्रतिशत सेयर छुट्ट्याएको छ । कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई छुट्ट्याइएको २४ प्रतिशत अर्थात ८७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर पहिलो चरणमा निष्कासन गर्न लागेको हो ।

दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्ट्याएको १० प्रतिशत सेयर र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्ट्याएको १५ प्रतिशत सेयर निष्कासन गर्ने भएको उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँ रहने छ ।कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेमा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको गत मंसिर २६ सम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले सेयरमा आवेदन दिन सक्ने छन् ।

सञ्चयकर्ताका लागि छुट्ट्याएको ७१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको सेयरका लागि सञ्चयकर्ताले फागुन ११ देखि ३० सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले बताए । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।यस कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर छुट्ट्याइएको छ । र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम तीन कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसैगरी, कर्मचारी सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० र सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुका लागि तीन करोड ६५ लाख रुपैयाँ बराबरको सेयर छुट्ट्याएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले चैत ५ देखि १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।आवेदन दिँदा अनिवार्यरुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नुपर्ने र सी–आस्बा प्रणाली मार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने छ ।

सान्जेनको अधिकृत पुँजी ३ अर्ब ७५ करोड तथा जारी पुँजी तीन अर्ब ६५ करोड रुपैयाँ छ । कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३९.३६ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२.५ मेगावाट जलविद्युत आयोजनाको अनुमानित लागत क्रमशः दुई अर्ब २२ करोड र पाँच अर्ब दुई करोड रुपैयाँ छ । यो रकम ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाइएको छ । यी दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १२ करोड ६४ लाख रुपैयाँ रहेको छ । भूकम्प, नाकाबन्दी विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन लगायत कारणले लागत अनुमानमा केही फरक पर्ने देखिए तापनि ठेक्का सम्झौता हँुदाका बखत अनुमानित लागतभन्दा कममा भएकोले यसले समग्रमा आयोजनाका लागतमा ठूलो असर नपर्ने श्रेष्ठको भनाइ छ ।

हालसम्म समग्रमा माथिल्लो सान्जेनको ६८ प्रतिशत र सान्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हब–त्रिशूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढाउनुपर्ने भहेकोले उक्त प्रसारण लाइन निर्माण हुने अवधि जुन–जुलाई २०१९ सम्म यस आयोजनाको निर्माण कार्य सक्ने गरी निर्माण कार्य अघि बढाइएको छ । सान्जेन माथिल्लोबाट वार्षिक रुपमा आठ करोड २४ लाख र सान्जेनबाट २४ करोड १८ लाख युनिट विद्युत् उत्पादन हुन्छ । आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);