आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भयो : डा. महत | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भयो : डा. महत

काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ । परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताउनुभएको हो ।

आइतबार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गर्नुभयो ।

आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको ठम्याइ छ । आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको बताउनु भयो । आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उहाँले बताउनुभयो । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? उहाँको प्रश्न छ ।

प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताउनुभयो । समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्नेकुरा आफूहरुले पनि चाहेको जिकिर गर्नुभयो । महामन्त्री थापाप्रति लक्षित गर्दै उहाँले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी गर्नुभयो ।

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको बताउनुभयो । अब संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्ने बताउनुभयो । जेन जी आन्दोलनको क्रममा पार्टीका कार्यकर्ताहरु प्रवेश गरेर सरकारी र निजी सम्पतीमाथि आगजनी र तोडफोड गरिएको भन्दै उनीहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने बताउनु भयो । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी रहेको बताउनुभयो ।

प्रवक्ता महतले विराटनगरमा कोईराला निवास जलाउनु भनेको राणाविरुद्ध कृष्णप्रसाद कोईरालाले लढेर गल्ती गरेको भन्न खोजेको हो ? भन्दै प्रश्न गर्नुभयो । गणेशमान सिंहले २०४६ सालको आन्दोलन गर्नु गल्ती हो भन्न खोजेको हो ? भन्ने प्रश्न उहाँको छ । नवपुस्ताहरुको आन्दोलनले थप सोच्न बाध्य बनाएको बताउनु भयो । व्यवधानको बाबजुत देशमा धेरै कुरा विकास भएको उहाँको दाबी छ ।

Leave a Reply