काठमाडौ ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको भदौ २३ र २४ गतेको विद्रोहले आतंकित भएको काठमाडौँ उपत्यका सामान्य अवस्थामा फर्किएको छ । जेनजीले गरेको विरोध प्रदर्शनमा केपी ओली सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो । दमनपछि भड्किएको आन्दोलनकारीले राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए ।
राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमा आगजनी गरेका थिए ।उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएको थियो ।जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा ओलीलाइ प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमाराखेको थियो ।
प्रचण्ड र माधव सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठकमा थिए । त्यहीँबाट सेनाले उद्धार गरी सुरक्षित स्थलमा राखेको थियो ।
कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा। आरजु राणा आफ्नै निवास बुढानीलकण्ठमा आक्रोशित प्रदर्शनकारीको निसानामा पर्दा निर्घात कुटपिट र निवासमा आगजनी भएको थियो । सोही अवस्थामा सेनाले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल निवासमै भएको बेला प्रदर्शनकारीले निवासमाआगजनी गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थलमा लगेका थिए तर आगजनीमा खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् ।
जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको निवास जलाइए पनि उनी सेनाको ब्यारेकमा बसेनन्, आफन्तको घरमा बसे । अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिदै आएका छन् ।




