भ्रष्टाचारविरुद्धको जनआक्रोश उजागर गर्न जेन्जीले आन्दोलनको उभार ल्याए । तर त्यसलाई राज्यद्वारा गलत व्याख्या गरी कलिला विद्यार्थीमाथि दमन गर्नु र आन्दोलनका नाममा हिंसा तथा तोडफोड हुनु दुबै गलत छन् । सरकारको ढिलासुस्ती, सुरक्षाको व्यवस्थापनमा असफलता र नेतृत्वको अभावले देशलाई थप अन्योलमा धकेलेको छ । संविधानको मर्यादा र जनभावनाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ नेतृत्व चयन, आन्दोलनको शान्तिपूर्ण व्यवस्थापन र राष्ट्रिय एकताको पुनस्र्थापनामा केन्द्रित हुनु अहिलेको पहिलो बाटो हो ।
नेपालमा पछिल्ला दिनहरूमा भएको जेन जी आन्दोलनले राष्ट्रको राजनीतिक र सामाजिक चेतनामा गम्भीर तरंग उत्पन्न गराएको छ । जेन्जीको नामले चिनिने १३ देखि २८ वर्षमुनिका युवाहरू भ्रष्टाचार, वेथिति र असमानताको विरोधमा सडकमा उत्रिनु, त्यसैमा उनीहरूलाई गोली हान्ने जस्तो अमानवीय कार्य हुनु अत्यन्तै निन्दनीय छ । विद्यालय र क्याम्पसको पोशाकमा रहेका आन्दोलनकारी युवाहरूमाथि लक्षित गरेर गोली चलाउनु गृहमन्त्री सबैभन्दा बढी दोषी हुन् भने गृहप्रशासनको गम्भीर असफलता हो ।
युवाहरूले केही दिन अघिदेखिनै आन्दोलनको चेतावनी दिइरहेका थिए, तर आन्दोलनको पूर्वानुमान गरी पूर्वतयारीस्वरूप २४ सै घण्टा सुरक्षाबल र आवश्यक संयन्त्र परिचालन गर्न नसक्नु सरकारको लापरवाही हो । तीनवटा सुरक्षा निकाय हुँदा पनि देशका सार्वजनिक संरचना बचाउन सकेनन्, यो सुरक्षा निकायको गम्भीर लापरबाही हो । सरकारी तथा निजी सम्पत्ति तहस नहस भयो । दिनभर सरकारी तथा निजी भौतिक सम्पत्तिहरुमा आगलागी भएर नष्ट हुँदै थियो तर सेनासहितका सुरक्षाकर्मीहरू राति १० बजेमात्रै सुरक्षाको जिम्मा लिएर सडकमा उत्रिए । सरकारले समयमै उचित व्यवस्थापन गर्न नसक्दा ठुलो भौतिक सम्पत्तिको जलेर नष्ट हुन पुग्यो । भौतिक संरचना जोगाउन सुरक्षाकर्मी सक्रिय हुन नसक्नु गम्भीर त्रुटि हो ।
विरोध र प्रदर्शन लोकतन्त्रको अनिवार्य हिस्सा हो, तर त्यसलाई व्यवस्थित गर्न नसक्नु मूल नेतृत्वको कमजोरी हो । आन्दोलनका नाममा आगो लगाउनु, तोडफोड गर्नु आन्दोलनको मर्म र उद्देश्य दुबैलाई कमजोर बनाउनु हो । यस्तो अराजक गतिविधिले सरकारको असफलता त देखाउँछ नै, आन्दोलनमा समर्पित आमयुवाहरूको भावनालाई पनि बदनाम बनाउँछ ।
उद्योग र व्यापार प्रतिष्ठानमा गरिएको क्षति नियोजित र घृणास्पद देखिन्छ । ‘जेन जी’ को आडमा औद्योगिक क्षेत्र तहसनहस पार्ने र नेपाललाई अझ बढी परनिर्भर बनाउने षड्यन्त्रको संकेत यहाँ प्रष्ट देखिन्छ । उद्योगी व्यवसायीको जीवनशैलीप्रति व्यक्तिगत रिसइबी प्रकट गर्नु सर्वथा अनुचित हो । व्यवसायीले ठूला भवन निर्माण गर्नु, महँगा सवारी साधन चढ्नु अस्वभाविक होइन, तर उनीहरूका उद्योग व्यवसायको भवन जलाउनु, भौतिक सम्पत्ति नष्ट गर्नु राष्ट्रघाती कार्य हो । यस्ता अनुचित कार्यले देशको रोजगारी, लगानी र आर्थिक स्थायित्वमा दीर्घकालीन क्षति पु¥याउँछ ।
अहिलेको मुख्या चिन्ताको विषय भनेको प्रधानमन्त्रीले राजीनामा दिएको तीन दिन बितिसक्दा पनि नयाँ प्रधानमन्त्री चयन हुन नसक्नु हो । देशमा संविधान छ, राष्ट्रपतिका अधिकारहरू सुनिश्चित छन् भने संविधान बमोजिम नयाँ प्रधानमन्त्री चयन र नियुक्ति प्रक्रिया तत्काल हुनुपर्छ । आन्दोलनरत युवाहरूले सिफारिस गरेका नेतृत्वसँग छलफल गरी राष्ट्रपतिले नै अन्तिम निर्णय लिनुपर्छ । लोकतान्त्रिक व्यवस्थामा सेनाले प्रत्यक्षरुपमा प्रधानमन्त्री छान्ने काम गर्नु हुँदैन, राजनीतिक विषम परिस्थितिमा समन्वयात्मक भूमिका मात्र निर्वाह गर्नुपर्छ । देशलाई नेतृत्वविहीन राखेर अन्योल सिर्जना गर्नु नेपाल र नेपाली दुबैका लागि अत्यन्त खतरनाक हुन सक्छ । तत्काल संयम्, संवाद र संवैधानिक प्रक्रियामार्फत् सरकार निर्माण आजको पहिलो आवश्यकता हो ।





