काठमाडाैं । सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको समयसीमाभित्र सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन बिहीबार नै नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सम्बन्धित निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको भन्दै सञ्चार मन्त्रालयले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्रालयको सूचनामा सर्वाेच्चको आदेश पालनाका लागि मन्त्रिपरिषद्बाट भएको निर्णयानुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सूचीकरण गर्न लिएको सातदिनको समय सीमा सकिएकोले प्रतिबन्ध गर्ने निर्णय भएको उल्लेख छ ।
प्रतिबन्ध लगाएका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरे लगत्तै पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको पनि मन्त्रालयको सुचनामा भनिएको छ । सरकारको आग्रहबमोजिम टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् ।
टेलिग्राम र ग्लोबल डायरीले पनि सूचीकरणका लागि मन्त्रालयमा आवेदन बुझाइसकेका छन् । हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।





