काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताउनुभएको छ ।
शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको प्रतिक्रया दिनु भएको छ ।
भेटवार्तामा दुई राष्ट्रबीचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद समेत दिनु भएको छ ।
प्रधानमन्त्री शनिबार नै पाँच दिने औपचारिक भ्रमणमा चीन पुग्नु भएको हो । उहाँलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीसँग नेपालका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत चीन गएको छ । प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीनमा रहनु्हुनेछ । ओलीले सांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।
भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।
एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा हुँदैछ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् । प्रधानमन्त्री ओली सेप्टेम्बर ३ मा बेइजिङमा हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागि हुनुहुनेछ ।





