काठमाडौँ ।
प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि सप्तरीको राजविराजमा स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले चलाएको गोली लागेर सप्तरी राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।
सोही घटनाको छानबिन हुनुपर्ने माग राख्दै बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।भारतीय सीमानजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो।
प्रहरीलाई घेरा हालेर ढुंगामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ । प्रदर्शनले उग्ररुप लिने जोखिम बढेपछि मधेस प्रदेश प्रहरीले ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ ।




