'नेपाल 'विकासशिल राष्ट्र'मा स्तरोन्नति हुनु गौरवको विषय' | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

‘नेपाल ‘विकासशिल राष्ट्र’मा स्तरोन्नति हुनु गौरवको विषय’

काठमाडाैं । सांसदहरुले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा उन्नति हुनु गौरवको विषय भएको बताएका छन् । राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरुले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा नेपालीहरु नेपाल गरिब देश हो भन्ने बोझिलो पहिचान बोकेर हिँड्नुपरेको बाध्यतालाई अब हटाउन सकिने बताएका छन् ।

अबको १६ महिनापछि नेपाल अविकसित देश भन्ने पहिचान छोडेर विकसित र विकासशिल राष्ट्रतर्फ अगाडि बढिरहँदा आफैलाई गाैरवान्वित महशुस हुने नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले बताउनुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशिल राष्ट्रको रुपमा विकसित हुनु गौरवको कुरा भएको बताउनुभयो । तर विकासशिल बन्दै गर्दा अति कम विकसित देशको हैसियतमा प्राप्त गर्ने धेरै सहुलियत गुम्नसक्ने खतरा रहेको उहाँको भनाइ छ ।

नेकपा एमाले सांसद इन्दिरादेवी गौतमले स्तरोन्नतिका लागि निर्धारण गरिएका तीन शर्तहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड अझै पूरा हुन नसकेको औँल्याउनुभयो । मानव सम्पत्ति सूचाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचाङ्कका मापदण्ड पूरा गरी नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु गौरवको विषय भएको उहाँको भनाइ छ।

राष्ट्रिय सदस्य डा. अञ्जान शाक्यले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको सूचिबाट माथि उठेर विकासशिल राष्ट्रको पंक्तिमा सामेल हुनु गौरवको विषय भएको बताउनुभयो । अबको बाटो अनुदानमा नभइ उत्पादनमा केन्द्रित हुनुपर्ने उहाँको सुझाव छ ।

बैठकमा सांसदहरुले पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटनमा लगानी आकर्षित गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवा र बौद्धिक प्रतिभाको विदेश पलायन रोक्नुपर्ने धारणा राखेका छन् ।

Leave a Reply

ताजा समाचार