काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायक रहेको बताउनुभएको छ । आइतबार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।
आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाउनुभयो ।
मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पार्नभयो । मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गर्नुभयो । बाँकी चार लाख मानिसहरू जो जुन क्षेत्रमा कार्यरत रहन्छन्, त्यहीँ नै सामाजिक सुरक्षामा आवद्ध गराएर सरकारी सेवाजस्तै उनीहरूको जीवन सुरक्षित बनाउन चाहेको बताउनुभयो ।
उहाँले अनौपचारिक क्षेत्र, स्वरोजगारको क्षेत्र अथवा अन्य कुनै क्षेत्र भएपनि सबैलाई सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति बनाउने पनि प्रष्ट पार्नुभयो ।
उहाँले समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभयो । राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाई थियो । राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उहाँले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पार्नुभयो ।





