आर्थिक प्रलोभनमा पारेर गैरकानुनी रूपमा डिम्ब बेचबिखनको धन्दा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

आर्थिक प्रलोभनमा पारेर गैरकानुनी रूपमा डिम्ब बेचबिखनको धन्दा

महिलाको डिम्बदानलाई नेपालको कानुनले कल्पना गरेको छैन । तर पछिल्लो समय आइभिएफ प्रक्रियामार्फत् गर्भधारण गर्ने चलन बढेसँगै अवैधरुपमा महिलाको डिम्ब खरिद बिक्री भइरहेको तथ्य बाहिरिएको छ । सन्तान नभएर पीडा खेपिरहेकाहरूका
लागि आइभिएफ विधिबाट सन्तान सुख पाइरहेको पक्षलाई पनि नर्कान सकिँदैन । तर डिम्बदान के हो भन्नेसमेत नबुझेका महिलालाई आर्थिक प्रलोभनमा पारेर कानुन विपरितको धन्दा गर्नु भने अपराध नै हो ।

काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि निःसन्तान दम्पतीलाई सन्तान दिलाउने नाममा १८ वर्षमुनिका किशोरीहरुको डिम्ब अर्थात अण्डा गैरकानुनी रूपमा निकालेर बेचबिखन गर्नेजस्तो जघन्य कार्यमा संलग्न भएको पाइएको छ । नेपालमा शुक्रकिट संकलन तथा भण्डारणबारे कानुन स्पष्ट भए पनि डिम्बदान तथा संकलनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन् । कानुनले नदिएको यस्तो अवैध कारोबारमा संलग्न रहेको भन्दै होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि काठमाडौंकी सञ्चालक डा. स्वस्ती शर्मा लगायतका चार जनामाथि मुद्दा चलाइएको छ ।

अनुसन्धानका क्रममा १५–१६ हजार रुपैयाँ दिने प्रलोभनमा किशोरीहरूलाई ल्याइने र नाैदेखि दश दिनसम्म हर्मोन इन्जेक्सन दिएर डिम्ब निकालिने गरिएको पाइएको छ । प्रलोभनमा फसेका किशोरीले घटनाबारे अभिभावकलाई बताएपछि २६ असारमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा यो प्रकरण पुगेको थियो । पछिल्लो समय आईभिएफका थुप्रै निजी क्लिनिकहरु सञ्चालनमा छन् ।

आइभिएफ अर्थात् पुरुषको शुक्रकिट र महिलाको डिम्ब शरीरको बाहिर निकालेर प्रयोगशालामा सञ्चित गरी गर्भधारण गराउने विधि हो । नि:सन्तान दम्पत्तिले सन्तान प्राप्तिका लागि अपनाउने यो विधिमा आवश्यक डीम्ब दानका सम्बन्धमा भने कानून नै छैन ।

महिलालाई पूर्णरुपमा बेहोस बनाई शल्यक्रियाबाट डिम्ब निकाल्ने गरिन्छ । डिम्ब निकालिएपछि शरीरबाट धेरै रगत बग्ने तथा भविष्यमा पर्याप्त मात्रमा डिम्ब उत्पादन नहुने सम्भावना हुन्छ । जसका कारण महिला स्वाथ्यमा ठूलो जोखिम हुनसक्छ ।

डिम्बदान विश्वका अरु देशहरुका लागि भने नयाँ होइन । यस विषयमा सत्य तथ्य बुझ्न होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिमै पुगेको माउन्टेन टेलिभिजनको टोलीसँग यो विषयमा कुनै प्रतिक्रिया दिन नमानेको र सञ्चालक स्वस्ती शर्मालगायतले भिडियो नखिच्न र रिपोर्टिङ नगर्न चेतावनी दिएका थिए । कानुनले नै व्यवस्था नगरेको कार्यमा संलग्न हुनु र स्वतन्त्र पत्रकारसँग प्रतिक्रिया दिन नचाहनुले अपराध लुकाउन खोजेको पुष्टि हुँदैन र ?

Leave a Reply