काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलममा बैठक शुरु भएको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रीत छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।
त्यस्तै, विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावकाे सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।
केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ । साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रीय कमिटीले गर्ने बताइएको छ । बैठक सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ ।





