निशान थापा
काठमाडौं । फलफूलको राजा मानिने आँपले आजभोलि बजारमा राज नै गरेको छ । पाकेको आँपबाट स्वादिलो रस र खाँदा गुलियोका साथै सिजनमा सर्वसुलभ हुने भएकाले उपभोक्ताका लागि आँप पहिलो रोजाईमा पर्ने गरेको छ । तर थोरैले मात्र हेक्का राख्छन् स्वादिलो आँपमा हुन सक्ने विषादीबारे ।
फलको राजा भनिने आँपले यतिबेला फलफूल बजारमा कब्जा नै जमाएको छ । गाँउ शहरका कुना र चोक-चोक आँपको बास्नाले भरिएका छन् । खाँदा रसिलो र गुलियो आँप अधिकांश उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । नेपालमा मुख्यगरी बैशाखदेखि साउनको दोस्रो सातासम्म आँपको चहलपहल हुने गर्दछ ।
नेपालमा व्यावसायिकरूपमा २४ जिल्लामा आँप खेती हुने गरेको छ । सबैभन्दा बढी मधेश प्रदेशमा उत्पादन हुन्छ । झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहटलगायतका जिल्ला व्यावसायिक आँप खेतीको पकेट क्षेत्र हुन् ।
नेपालमा कूल फलफूल उत्पादनको ३० देखि ३५ प्रतिशत हिस्सा आँपले नै ओगट्ने गर्छ । यसपाली उत्पादन राम्रो हुँदा आँप बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो एक दशककै सबैभन्दा सस्तोमा आँप बिक्री भइरहेको छ ।
निश्चित समयमा धेरै उत्पादन हुने आँपले बिस्तारै भारतीय आँपलाई प्रतिस्थापन गरिरहेको छ । नेपालमा दशहरी, मालदह, मल्लिका, आम्रपाली, चौसा, कलकतिया, सिपिया, अबेहायात जातका आँप उत्पादन हुन्छ । जात अनुसार मूल्य पनि फरक हुन्छ। सबैभन्दा बढी माग र मालदहकै हुने व्यापारी बताउँछन् ।
आर्थिक वर्ष २०७७/०७८ मा ४३ हजार ६ सय ८९ हेक्टरमा चार लाख ६६ हजार दुई सय ६७ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । आब २०७८/०७९ मा भने ३९ हजार पाँच सय ७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार आठ सय ५९ टन आँप उत्पादन भएको अभिलेख छ ।
यो वर्ष उत्पादकत्व प्रतिहेक्टर १०.६७ बाट बढेर १२.६१ मेट्रिक टन पुगेको छ । नेपाली आँपको सिजन बिस्तारै सकिँदैछ । उत्पादन कम हुन थालेसँगै आँप महँगो पनि भएको छ । साथै सड्न गल्न थालेपछि विषादि प्रयोग हुन सक्ने उपभोक्ताको आशंका छ । प्राकृतिक स्वाद नभएको र आँप खादा मुख र घाँटीमा खसखस हुने गरेको उपभोक्ता बताउँछन् ।
नेपालमा फलफूल खेतीका लागि प्रचुर सम्भावना र अवसर भएकाले अझै पनि आँपको उत्पादन बढाउन भने सकिन्छ ।






