एसईईकाे नतिजा, सुधारकाे संकेत र सरकारकाे जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

एसईईकाे नतिजा, सुधारकाे संकेत र सरकारकाे जिम्मेवारी

विद्यालय शिक्षा सुधारको शुभ संकेतलाई निरन्तरता दिन तीन तहका सरकार, शिक्षक,अभिभावक र स्वयम् विद्यार्थी पनि दत्तचित्त भएर कर्मक्षेत्रमा जुट्नुपर्छ । सबैले आ-आफ्नो क्षेत्रबाट शिक्षा सुधारको काममा थोरै समय दिने हो भने सामुदायिक शिक्षा अब्बल नहुने प्रश्नै उठ्दैन ।

शिक्षाको विकास विना देश विकासको कल्पना गर्न सकिन्न । शिक्षा सबैका लागि उत्तिकै आवश्यक छ । आम अभिभावक, शिक्षक र विद्यार्थीको मात्र चासो रहेको विद्यालय शिक्षा सुधारमा सरकार र विधायिकाहरुले पनि उत्तिकै ध्यान दिने हो भने सामुदायिक शिक्षामा सुधार गर्न समय लाग्दैन ।

शिक्षकलाई सिकाइ उपब्धीका विभिन्न तालिम समय समय आवश्यक छ । पछिल्लो समय विद्यालय शिक्षामा नयाँ प्रविधिलाई आत्मसाथ गर्ने दक्ष जनशक्तिको प्रवेश बढेको छ । यसलाई अझै शिक्षक सेवा आयोगले बढाउनुपर्छ । नयाँ जनशक्तिलाई पनि समयको माग अनुसारको उपकरण र शैक्षिक सामग्रीका साथै उच्च मनोवलका साथ कक्षाकोठामा जाने वातावरण निर्माण गर्नुपछ ।

शिक्षकलाई शैक्षिक तालिम कम्तिमा वर्षको एक पटक निरन्तर दिनुपर्छ । अरु क्षेत्रले पाए सरहको सेवा सुविधा शिक्षा क्षेत्रलाई पनि उपलब्ध गराउन सरकारले कञ्जुस्याँइ गर्नु हुन्न । शिक्षकले उठाएका उनीहरुका वृत्ति विकासका माग सरकारले ढिलो नगरी पूरा गर्नुपर्छ । गत वर्षको भन्दा यसपटक एसईई परीक्षामा देखिएको सुधारका संकेतले शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ । सबै पक्षले प्राप्त उपलब्धिलाई बचाएर थप उपलब्धिका लागि आगामी कार्ययोजना बनाएर काम गर्नुपर्छ ।

२०८१ सालको एसईई परीक्षामा ६१.८१ प्रतिशत ग्रेड प्राप्त गरेर सफलता हात पारे । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार ८ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ भए भने ३.२ देखि ३.६ जीपीएसम्म हातपार्ने विद्यार्थी संख्या ८१ हजार ३ सय ५५ देखिए ।

यसैगरी, २.८ देखि ३.२ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ जना छन् भने २.४ देखि २.८ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार ४ सय ७९ छ । २ देखि २.४ सम्म टेक्ने विद्यार्थीको संख्या ४ हजार १ सय २६ जना देखियो भने १.६ देखि २ जीपीएमा ८ जना परे ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एक सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।

ग्रेड वृद्धिका लागि फेरि परीक्षा दिनुपर्ने विद्यार्थीको संख्या एक लाख ६७ हजार ५ सय ९७ देखिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गएको चैतमा भएको एसईई परीक्षा नियमिततर्फ चार लाख ३१ हजार चार सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार सात सय १५ जना गरी जम्मा चार लाख ९९ हजार एक सय ८३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

विभिन्न समस्या झेलेर पढाउने शिक्षक, विद्यालयको रेखदेखको प्रबन्ध मिलाउने अभिभावक र स्वयम् पढ्ने विद्यार्थीको परिश्रमले परीक्षामा सुधारको संकेत देखिएको हो । यसलाई निरन्तर दीगो बनाउन तीन तहकै सरकारले पहिलो प्राथमिकता विद्यालय शिक्षा सुधारमा केन्द्रित गर्नैपर्छ ।

Leave a Reply