ग्रामिण विकासका आयोजनामा भएकाे बजेट विनियाेजन मापदण्ड अनुसारनै भएकाे उप्रधानमन्त्री सिंहकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

ग्रामिण विकासका आयोजनामा भएकाे बजेट विनियाेजन मापदण्ड अनुसारनै भएकाे उप्रधानमन्त्री सिंहकाे दाबी

काठमाडाैं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षका कार्यक्रमहरू ‘आयोजना वर्गीकरण मापदण्ड २०८०’ को दायरा भित्र रहेर बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मन्त्रिपरिषद् निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको कारण ग्रामिण विकासका आयोजनाका लागि समेत बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

ग्रामीण क्षेत्रका आयोजनामा समेत टुक्रे आयोजनाको लागि बजेट विनियोजन गरिएको भन्दै नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिनुभएको थियो ।

उपप्रधानमन्त्री सिंहका अनुसार उक्त विभागअन्तर्गत ग्रामिण सडक लगायतका कार्यक्रमहरू विगतदेखि नै कार्यान्वयन हुँदै आएको हुँदा त्यस्ता कार्यक्रमका लागि बजेट विनियोजन हुनु स्वाभाविक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले साना सिँचाइजस्ता शहरी विकास मन्त्रालयको कार्यक्षेत्रभन्दा अलग विषयमा बजेट विनियोजन गरिएको प्रसङ्गमा उठेका प्रश्नको जवाफ दिँदै यस्ता कार्यक्रमहरू विगतदेखि नै सञ्चालनमा रही अझै पूर्ण नभएको अवस्थामा मन्त्रालयको कार्यक्षेत्रमा आएका कारण बजेट विनियोजन गरिएको बताउनुभयो ।

 

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply