काठमाडाै । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । शुक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।
विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गते बेलुकी पाँच वजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
यसअघि राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १ सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३ सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले १२६ जना परीक्षार्थीको परीक्षा भने रद्ध भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या १ लाख ६७ हजार ५ सय ९७ रहेको छ । गएको वर्ष ग्रेडेड हुनेको सङ्ख्या ४८ प्रतिशत थियो ।





