दलीय राजनीति, चरम कुर्सी माेहमा शीर्ष नेताहरू र विरक्तिदै नयाँ पुस्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

दलीय राजनीति, चरम कुर्सी माेहमा शीर्ष नेताहरू र विरक्तिदै नयाँ पुस्ता

पछिल्लो समय अधिकांश राजनीतिक दलका नेता पद विना बस्नै नसक्ने बनेका छन् । आफैले बनाएको दलको नियम आफै पालना गर्दैनन् । दलका शीर्ष नेताहरु आफ्नो स्वार्थका लागि राजनीतिक दलको विधिविधान नै लत्याउँछन्, जसका कारण नयाँ पुस्तामा नेताहरुप्रति घृणा उत्पन्न गराएको छ ।

नेपाली राजनीतिमा सत्ता र शक्ति विना बस्न नसक्ने प्रवृत्ति नेताहरुमा देखिन थालेपछि पछिल्लो समय पुराना राजनीतिक दलका नेताप्रति जनता र नयाँ पुस्तामा घृणा पैदा भएको हो । यो विषय नेताहरु आफैले बुझ्ने विषय हो । नागरिकले नेताप्रति व्यक्त गरेको धारणा नेताहरु आफैले बुझेर शक्ति र सत्ताको मोह त्याग्दै जाने हो भने भोलिका दिनमा नेताप्रति नागरिकमा श्रद्धाभाव पलाउन सक्छ ।

देशका लागि केही काम गर्न नसक्ने, दलको अध्यक्ष र सत्ताको कुर्सीमा झुण्डिरहने प्रवृत्ति स्वयम् राजनीतिक दलका लागि नै घातक सिद्ध भएको देखिदैछ । देशका प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतामा देखिएको अचाक्ली कुर्सी मोहले नयाँ पुस्तालाई दलीय राजनीतिले विकर्षण गराएको छ । कतै कुनै काम गर्न नसक्नेले राजनीति क्षेत्र गिजोलेको अहिलेको नयाँ पुस्ताको ठम्याइ छ ।

प्रतिनिधि सभाको निर्वाचनमा जनताले नपत्याएका पराजित अनुहारलाई प्रमुख दलले राष्ट्रिय सभामा ल्याउनु जनताप्रति घोर अपमान हो एउटा भने अर्को कुर्सी विना बाच्न नसक्ने गलत नेताहरुको राजनीतिक दलभित्र सिडिन्डकेट छ भन्ने नयाँ पुस्ताको बुझाइ छ । प्रमुख तीन दलका नेता कार्यकर्तामा सांसदको निर्वाचनमा दोहोरिन नहुने, स्थानीय तहमा, प्रदेशमा र दलको अध्यक्ष पनि दुई कार्यकालभन्दा बढी बस्न नहुने बहस शुरु भएको छ ।

देशको प्रमुख कार्यकारी पदमा अब एमाले, कांग्रेस र माओवादीका शीर्ष नेता जान नहुने भन्दै ती दलका नेता र कार्यकर्ताले देशभरि भूषको आगो सल्काएका छन् । यसै मेसोमा आगामी भदौमा नेकपा एमालेले विधान महाविधेशन गर्ने गरी तयारी गरेको छ । विधान महाधिवेशनमा एमालेभित्र ७० वर्षे उमेर हदको विषय जोडतोडले उठाउन अहिलेदेखि दोस्रो तहका नेता लागिपरेका छन् ।

नेकपा एमालेभित्र २०६५ सालमा बुटवलमा भएको आठौँ महाधिवेशनले एउटै कार्यकारी पदमा दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौँ महाधिवेशनले ७० वर्षे उमेर हदको प्रावधान ल्याएको थियो । तर २०८० सालमा एमाले सचिवालय बैठकले ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गरेको थियो ।

अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नजिक मानिनेहरु ओली फेरि अध्यक्ष बन्ने मनशाय देख्न थालेपछि पार्टी पंक्ति विद्या भण्डारीतिर बढ्दै गएको छ ।

अर्कातिर निकट भविष्यमा सत्ताको शयर गर्ने जोखाना हेरेर बसेका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिन दलीय विद्रोहको ज्वारभाटा निस्कन थालेको देउवाले पत्तै पाएका छैनन् । यस्तै, अवस्था नेकपा माओवादी केन्द्रमा पनि छ । अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दाहालकै विश्वासपात्र बनेर बसेका दोस्रो वरियताका नेता लागेका छन् ।

राजनीतिक दलहरुमा किन यस्तो अवस्था आयो भन्ने विषय बुझ्न जरुरी छ । दलभित्र बढेको मनपरितन्त्र र पदप्रतिको चरम लिप्सा नै हो । प्रमुख राजनीतिक दल र तिनका नेतामा सिद्धान्त, आदर्श र निष्ठा भन्ने कुनै चिज नरहेकाले नयाँ पुस्ताले सरकार र राजनीतिक दलका नेतालाई सकारात्मक रुपमा हेर्नै चाहँदैनन् ।

Leave a Reply