प्रदेश २, ५, ६ र ७ मा पहिलो बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २, ५, ६ र ७ मा पहिलो बैठक आज

pradessh sava

काठमाडौँ,२१ माघ । थप चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ २२ गते तोकिएको छ ।संघीयता कार्यान्वयनसँगै हुन लागेको प्रदेश बैठकमा प्रमुख दलका सांसदहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने सपना लिएर आएको बताएका छन् ।
प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् ।
मधेस आन्दोलन चर्किएका जिल्लालाई समेटेर बनाइएको प्रदेश २ का सांसदहरू संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री छान्ने कसरतमा छन् । यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मुख्यमन्त्री चयन गर्नेछन् । मुख्यमन्त्रीबारे राति अबरेसम्म टुंगो लागेको छैन ।

राजपाका महासचिव मनीष सुमनले संघीयताको अभ्यास सुरु भएको बताए । उनका अनुसार अर्थ, विदेश नीति र सुरक्षाबाहेक सबै अधिकार प्रदेशले खोजेको हो । ‘तर, प्रदेशलाई भन्दा संघमा बढी अधिकार राखिएको छ, स्थानीय तहलाई पनि प्रदेशको भन्दा बढी अधिकार दिइएको छ,’ उनले भने, ‘अधिकारको लडाइँ अझै बाँकी छ । सम्भवत हाम्रो अवधि यसैका लागि लिग हाल्दैमा बित्ला ।’ यो प्रदेशमा १ सय ७ सांसद छन् ।

प्रदेश ५ को बैठकस्थल बुटवलमा तयारीले रौनक ल्याएको छ । त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ भने बैठकले गर्ने निर्णयबारे सर्वसाधारणमा जिज्ञासा बढाएको छ । ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । बैठकले सभामुखको निर्वाचनलगायतका विषय पारित गर्नेछ । यो प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता शंकर पोखरेल निर्विवाद देखिएका छन् । एमालेले उनलाई उक्त प्रदेशको संसदीय दलको नेता चयन गरिसकेको छ ।

पोखरेललाई माओवादी सांसदको पनि समर्थन छ । पहिलो बैठकका सभामुख ज्येष्ठ सदस्य पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले सहकार्य गरेका कारण सहज भएको बताए । शपथग्रहणपछि दलका प्रतिनिधिसित पटक–पटक छलफल गरेको जनाउँदै उनले बैठकलाई सामूहिक कर्तव्यका रूपमा लिएको बताए । ‘एउटा दलको मात्र दायित्व होइन,’ उनले भने, ‘ऐतिहासिक अवसरलाई सफल तुल्याउने सबै दलको कर्तव्य हो ।’

प्रदेशमा एमालेका ४०, कांग्रेसका १९, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी राजपाका १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ । प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठकका लागि वीरेन्द्रनगरस्थित संसद् भवन बेहुलीझैं सिँगारिएको छ । ज्येष्ठ सदस्य हिमबहादुर शाहीले बैठकको अध्यक्षता गर्दैछन् । यो प्रदेशमा विगतमा पछि परेको कर्णाली क्षेत्रसमेत परेकाले आगामी कार्यक्रमबारे सबैको चासो छ ।

प्रदेशसभा सचिवालयका सचिवकृष्णहरि खड्काका अनुसार बैठक सञ्चालनका लागि प्रस्तावित अन्तरिम कार्यविधि पारित गर्ने र माघ २९ गतेका लागि सभामुख निर्वाचन तोक्ने पहिलो बैठकको कार्यसूची छ । सचिवालयले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू र प्रदेशसभाका ज्येष्ठ सदस्यसँग प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिको मस्यौदाबारे छलफल गरेको थियो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनाललेशनिबार रातिसम्म बसेर भए पनि तयारी सक्न कर्मचारीलाई निर्देशन दिएका छन् । सदस्य संख्याका हिसाबले यो सबैभन्दा सानो प्रदेश हो । प्रदेश ६ को प्रदेशसभामा ४० सांसद छन् ।
प्रदेशको ठूलो दल एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यो प्रदेशमा मुख्यमन्त्री माओवादीबाट हुने पक्का हुने भएको छ । माओवादीका सांसद महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ । माओवादीले शनिबार अबरेसम्म यो विषयमा टुंगो लगाउन सकेको छैन ।

प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्दैछिन् । बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्ने छ भने कार्यविधि पनि पारित गर्ने तय भएको छ । डोटी २ का माओवादी सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुने सम्भावना छ । उनलाई एमालेले समर्थन गरेको छ । बैठकमा भाग लिन आएका सांसदहरूले जलविद्युत् र पर्यटनको विकासमा ध्यान दिने बताएका छन् ।आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);