काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
चुरे संरक्षण दिवस २०८२ को अवसरमा आज(साेमबार) नवलपरासीको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरूरी रहेको बताउनुभयो ।
राष्ट्रपति पाैडेलले नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अठ्ठाइस बिघा क्षेत्रको ज्योतीपुञ्ज सामुदायिक वनमा वर र प्रथम महिला सविता पौडेलले पिपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गर्नुभयो ।
उहाँले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले चुरे क्षेत्रको प्राकृतिक श्रोतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय जनताको जिवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन गरेको स्मरण गराउनुभयो ।
राष्ट्रपति पौडेलले माथिबाट गेग्रान आउने, त्यसले खोला पुरिने र खोला गाउँ तथा खेततिर हिडेपछि ठूलो क्षय हुने गरेकाले खोला घर (बाटो) खोलेर गेग्रानको उपयोग गर्न सके तराई–मधेशलाई बचाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षारोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठूला–ठूला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने कार्यलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो ।




