काठमाडाैं । नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताउनुभएको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताउनुभएको हो ।
सांसद राणाले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानबिन गरी स्पष्ट पार्ने बताउनुभयो । मुख्य आरोपित गृहमन्त्री नभइ सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको बताउनुभयो ।
सांसद राणाले भन्नुभयाे, ‘छानबिन अख्तियारले शुरु गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव होइन । सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभइकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन । केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’
सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताउनुभयो ।




