काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको आरोप लगाउनुभएको छ ।
आइतबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर भइरहेको आन्दोलनमा माओवादी केन्द्रले धोका दिएको बताउनुभएको हो ।
प्रतिपक्षको तर्फबाट माओवादीले सरकारसँग गरेको सहमति झारो टार्ने काम भएको उहाँको भनाइ छ । उहाँले सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको सुशासनको पक्षमा कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
प्रमुख सचेतक परियारले गृहमन्त्रीको राजीनामालगायत पाँच बुँदामा सहमति र उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने बताउनुभयो ।




