भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

२०८२,२,२८

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक हप्तामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हिजो पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एकरएक जनामा सङ्क्रमण देखिएको हो । सुदूरपश्चिमका विभिन्न नाकाबाट ६ सय ४३ जना नेपाल भित्रिएका थिए । जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो । यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरू लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण हुन सकेको छैन । त्रिनगर नाकामा कोरोना सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरू बताउँछन् । विभागले २ सय कीट पठाएसँगै प्रदेशमा अहिले ३ सय ७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ महामारीपछि सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना भएका छन् ।

Leave a Reply