काठमाडौं, २० माघ । प्रतिनिधिसभा विघटन गर्दै २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताको अधिकार खोसेर सम्पूर्ण शक्ति आफूमा निहित गरेका थिए ।
तर, माघ १९ को त्यो कदम १४ महिनापछि ज्ञानेन्द्रकै लागि प्रतियूत्पादक बन्यो । र, जनताले नै राजतन्त्र फालिदिए । राजतन्त्र फालिएपछि राज परिवारले प्रयोग गर्ने बहुमूल्य सामाग्री संग्रहालयमा राखिएको छ । ती सामाग्री अवलोकनका लागि धेरै मानिस नारायणहिटी संग्रालयमा जाने गरेका छन् ।
श्रीपेचको अन्तिम प्रयोग तत्कालीन राजा ज्ञानेन्द्र शाहले गद्दी आरोहणका समयमा गरेका थिए । गणतन्त्र घोषणा पश्चात २०६४ जेठ २९ गते ज्ञानेन्द्रले राजगद्दी छाडे । ज्ञानेन्द्र शाह दरबारबाट निकालिएपछि तत्कालीन नारायणहिटी दरबार २०६५ असार १ गते संग्राहलयमा परिणत भयो ।
फागुन १६ गतेबाट सर्वसाधरणका लागि खुल्ला गरिएको यो संग्राहलय अवलोकन गर्न अहिलेसम्म २६ लाख १७ हजार ९ सय जना मानिस पुगिसकेका छन् । उनीहरुले राजाले प्रयोग गरेको आलिसान महलको कोठा-कोठा अवलोकन गर्ने गर्छन् । तर, सबैको एउटै गुनासो रह्यो, राजतन्त्रको मुल पहिचान श्रीपेच देख्न पाइएन ।
तत्कालीन राज परिवारले प्रयोग गर्ने अधिकांश कक्षहरु अवलोकनका लागि खुल्ला गरिएपनि श्रीपेच अहिलेसम्म कुन कोठामा छ ? सर्वसाधरणले पत्तो पाएका छैनन् ।
नारायणहिटी दरवार संग्राहलयका अनुसार आर्थिक बर्ष २०६८-६९ को नीति तथा कार्यक्रममा श्रीपेच अवलोकनका लागि खुल्ला गर्ने योजना थियो । हिरा, मोती, पन्ना, चाँदी र सुन जस्ता बहुमुल्य धातु जडित श्रीपेच राख्ने कक्षका लागि सरकारले एक करोड १६ लाख रुपैयाँ खर्च गरेर बुलेटप्रूफ स्वकेस, सिसिटिभि, स्वचालित गेटसहितको उच्च प्रविधिको सेट नै खरिद गरेको थियो । तर, उक्त कक्ष खुल्ला गर्न सबै पक्ष तयार नहुँदा अहिले पनि नेपाली सेनाको प्रत्यक्ष निगरानीमा बन्द कोठाभित्रै छ ।
२ हजार डिग्री सेल्सीयसमा पनि नबिग्रने फायरप्रुफ बाकसभित्र श्रीपेचलाई राखिएको छ । हरेक वर्ष श्रीपेचको सफाइ र आवश्यक वस्तु फेर्ने गरिएको थियो ।
तर, संस्कृति तथा पर्यटन मन्त्रालय, दरवार संग्राहलय र नेपाली सेनाको संयुक्त शिलवन्दीमा रहेको उक्त बन्द कोठा २०७१ साल चैत २० गते यता एक पटक पनि खोलिएको छैन । २०७२ सालको महाभूकम्पले दरवारका केही संरचना भत्काएको थियो । यही दरबारभित्रको बन्द कोठामा राखिएको श्रीपेचको अवस्था भने अत्तोपत्तो छैन ।
श्रीपेच अवलोकनका लागि खुल्ला नगरिनुमा श्रीपेच विमाको विवादले पनि अन्योलता सृजना गरेको देखिन्छ । तीन वर्षअघि दरबार संग्रहालयका तत्कालिन पूर्व प्रमुख लेखबहादुर कार्कीले बिमाको प्रक्रिया सुरू गरेका थिए ।
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले कुनै पनि वस्तुको मूल्य तय नभई त्यसको बिमा गर्न नसकिने बताएपछि श्रीपेचको मूल्य तोक्नेबारे बहस भएको थियो ।
तर सरकारले मुलुकमा एउटा मात्रै वस्तु बहुमुल्य रहेको भन्दै श्रीपेचको मुल्य नतोकेपछि यसलाई अवलोकनमा खुल्ला गर्न नसकेको हो । श्रीपेच अवलोकनका लागि खुल्ला नगरिँदा भने दरवार संग्राहलय पुगेका सर्वसाधरण ९ बर्ष देखि सधैँ श्रीपेचको आकृतिबारे मनभरी प्रश्न लिएर फर्कन बाध्य छन् ।