श्रमको सम्मानले नै खुल्छ समृद्धिको ढोका | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

श्रमको सम्मानले नै खुल्छ समृद्धिको ढोका

२०८२,१,२२

हरेक वर्ष आउँछ, मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा महसुस हुन्छ श्रम र श्रमिकको महत्व । सबैले ठूल्ठूला समारोह, गोष्ठी सेमिनारमा सुन्दर र मीठा शब्दमा भाषण दिने प्रचलन नौलो होइन । त्यस्तै मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आउँदा पनि उही क्रम दोहोरिन्छ । महिला श्रमिक दिवसको इतिहास ११५ वर्ष र श्रमिक दिवसको १३६ वर्षको इतिहास बनिसक्यो । यो अवधिमा नेपालमा कानूनको आधारमा हेर्दा वा औपचारिक क्षेत्र र सभासमारोमा हेर्दा धेरै उपलब्धि भएका छन् । भाषण बदलिएका छन्, तर भाषण र कानूनअनुसार चिन्तन, सोच र व्यवहार बदलिएका छैनन् । झन् हिंसाका रूप बदलिएका छैनन् । देखिने घाउका ठाउँमा अनगिन्ती नदेखिने मनका घाउ लागिरहेका छन् । अपमान र पीडा सहन र देखाउन नमिलेर अमूल्य जीवन बर्बाद भएका थुप्रै घटना छन् । दिवसहरूको सेरोफेरो पारेर भाषण र कार्यक्रमको चुनौती दिँदै हिंसाका घटनाहरू बाहिरिएको पनि देखिन्छन् र सुनिन्छन् । महिला हिंसा र श्रमिकले भोग्नुपरेका असमानता अभाव, अपमान, असुरक्षित जीवन पनि उत्तिकै छन् ।

अर्कातिर सधैं अभावैअभाव, तर जसले काम गरेको देखिँदैन । उसैको ऐसआराम, मनोरञ्जनमा रमाएको हुन्छ । त्यसैको महल, गाडी, फुर्ती सबै देखिन्छ । कसैको जीवनको आधार श्रम, पसिना, रगत र अङ्गबाहेक बेच्ने केही हुँदैन, त्यतिबेला थाहा हुन्छ वास्तविक जीवन के हो भन्ने ? मानव जीवनलाई हेर्ने र बुझ्ने विभिन्न दर्शन छन् । जीवन सङ्घर्ष हो, भोगाइ हो । जीवन अनुभवको संगालो हो । जीवन प्रकृतिको सुन्दर उपहार र एक अवसर पनि हो । जीवन दर्शनलाई बुझ्न सके श्रम गरेर सार्थक बनाउन पनि सकिन्छ । मानव जीवनले पाएका कर्मेन्द्रियले सही काम गर्ने र ज्ञानेन्द्रियलाई सही प्रयोग गर्न सके जीवन सार्थक बन्न पनि सक्छ । पाखुरी बजाएर वा दश नङ्ग्रा खियाएर खाने व्यक्ति वास्तवमा दुःखी होइन । श्रमको बलले आफू पालिन्छ र अरुलाई पनि पालेको हुन्छ । इमानदार, श्रमशील र मेहनती मान्छेलाई भोको बस्न पर्दैन । मानव जीवनले पाएका कर्मेन्द्रियले सही काम गर्ने र ज्ञानेन्द्रियलाई सही प्रयोग गर्न सके जीवन सार्थक बन्न पनि सक्छ । पाखुरी बजाएर वा दश नङ्ग्रा खियाएर खाने व्यक्ति वास्तवमा दुःखी होइन ।

श्रमिक दिवस श्रम गरेर खाने व्यक्तिहरूको दिन हो । भनिन्छ श्रमको सम्मानले नै समृद्धिको ढोका खोल्छ । पहिले शारीरिक श्रम गर्नेलाई श्रमिक भनिन्थ्यो । अहिले शारीरिक, मानसिक, सामाजिक श्रम गर्ने पनि श्रमिकको परिभाषामा समेटिएको छ । श्रमका प्रकारहरू छन्– शारीरिक श्रम, मानसिक श्रम र सामाजिक श्रम । कसैले पाखुरीको बल र पसिना बगाउँछ भने कोही मानसिक श्रम बुद्धि र विवेक लगाएर ज्यान पाल्छ र आफूमात्र होइन समाजलाई पनि अगुवाइ गरेको हुन्छ । भाग्यमा होइन, कर्ममा विश्वास गर्न सिकाउँछ । श्रमको महत्व बुझाउँछ । श्रमको महत्व बुझ्न सके व्यक्ति, परिवार, समाज र राष्ट्रको पनि उन्नति हुन्छ ।

समाजको व्यवस्था, अवस्था, सभ्यता, मर्यादा, भविष्य सबै परिवर्तन गर्न विवेकशील श्रमले मद्दत गरेको हुन्छ । श्रम गर्ने जाँगरिलो बानी, सीप, विवेक भए सीमित समय, स्रोतसाधनको उपयोग गरेर पनि भविष्य बदल्न सक्छ । आफ्नो जीवनमात्र होइन परिवार, आफन्त र समाजलाई नै उन्नतिको बाटोमा दोहो¥याउन सकिन्छ । पाखुरीमा बल, मनमा आँट, व्यवहारमा इमानदारिता र अनुशासन, जोशलाई होस र विवेकले चलाउँदा स्वतः त्यो व्यक्ति अरुको लागि प्रेरणादायी बन्नसक्छ । त्यसैले श्रम गर्ने बानी र श्रमजीवीलाई सम्मान गर्नुपर्दछ ।

अहिलेको सरकार देशमा राजनीतिक स्थिरता, आर्थिक अवस्था, नेपाल र नेपालीको स्वाभिमान, राष्ट्रिय सुरक्षा र एकता, वैदेशिक सम्बन्ध र छवि जोगाउने उद्देश्यमा छ । कानून निर्माणको क्रममा छ । कानून निर्माण र कार्यान्वयनमा प्रभावकारिता, निष्पक्षता र पारदर्शिता ल्याउन सकेमात्र नेपाली जनता र श्रमिकहरूको आन्दोलनले सार्थकता पाउनेछ । सुन्दर नारा कार्यान्वन गर्ने सपना, भिजन, स्रोत र प्रभावकारी कार्यान्वयनको खाँचो छ । यस्तो परिस्थितिमा राज्यको जिम्मा लिएका तीनै तहको नेतृत्व जिम्मेवार भई सजग रहेर काम गर्दै जानुपर्छ । राम्रोलाई राम्रो भन्ने र गल्तीलाई सुधार गर्ने सुझावलाई सहज रूपले स्वीकार्ने बानीको विकास पनि हुन जरुरी छ ।

Leave a Reply

ताजा समाचार