२०८२,१,२२
सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमले सामुहिक प्रयास नै विकासको प्रतिफल हो भन्ने धरानबासीको जनश्रमदानको उदाहरणलाई समेट्न सक्नुपथ्र्यो । सरकारको नीति तथा कार्यक्रममा स्थानीय जनसहभागिता र श्रमदानको उल्लेख नै छैन । सरकारले ल्याएको नीति तथा कार्यक्रम कसका लागि भन्ने प्रश्न उठेको छ । पानीको हाहाकार हुने धरान उपमहानगरपालिकाभित्र अहिले प्रसस्त नभए पनि खानेपानी स्थानीयको प्रयाशले उपलब्ध भएको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङले स्थानीयबासिन्दाको सहयोगमा सर्दु जलाधार क्षेत्र र धरानबाट धेरै टाढा रहेको कोकाखोलाको मुहानबाट पाइप विछ्याएर धरानमा पानी ल्याएका हुन् । साम्पाङले स्थानीयबासीकै सहयोगमा सर्दु जलाधार क्षेत्र वरिपरी श्रमदानबाटै विभिन्न फलफुल र अन्य जातका वृक्षसमेत रोपेका छन् । उनी नगरप्रमुखमा निर्वाचित भएपछि लगातार श्रमदानमा आधारित जनसहभागितालाई अपनाइरहेका छन् । सडक,तटबन्ध निर्माणजस्ता कार्य स्थानीय जनश्रदानबाट गराइरहेका छन् । यसबीचमा साम्पाङको पक्ष र विपक्षमा स्थानीयबासिन्दा खुलेर लागे । तर अहिले विकासको काममा हर्क साम्पाङ निरन्तर लागिरहेकाले स्थानीयको विरोधभन्दा समर्थन नै बढी पाउनथालेका छन् । हर्क साम्पाङ पनि अरु स्थानीय तहका प्रमुखजस्तै अफिसमा बसेर विकासनिर्माणका काम ठेक्कापट्टामा लगाउनसक्थे । तर उनले त्यसरी विकास नहुने देखेर आफै खटेर काम गरिरहेका छन् । साम्पाङ आफै खलखली पसिना काँढेर, काम गरेकै स्थानमा धुलोमैलो अवस्थामै बसेर खाना,खाजा खान्छन् । धेरैले उनको यो काम गर्ने तरिकालाई नाटक पनि भने तर उनले नाटक गरेका होइनन् । स्थानीय तहमा विकासको आवश्यकता धेरै छ । तर ती सवै आवश्यकता पूरा गर्ने बजेट छैन । भएको थोरै श्रोत र साधनलाई साम्पाङले जनश्रमदान जुटाएर विकासनिर्माणका काम गरेका हुन् । बाँकी हाम्रा सात सय ५२ वटा स्थानीय तहले धरानको विकास मोडल अपनाउने हो भने थोरै बजेटले धेरै विकासनिर्माणका काम गराउनसक्छन् । जसले स्थानीयलाई विकासप्रतिको अपनत्व पनि महसुस् गराउनेथियो । काठमाडौ महानगरले स्थानीय तहको चुनावपछि लगत्तै भत्काएका संरचना अझै बनाउने सुरसार छैन । महानगरमा रहेको विकासनिर्माणको पुँजीगत बजेट हरेक वर्ष खर्च हुन सक्दैन । काठमाडौ, ललितपुर, वीरगन्ज, पोखरा, चितवन र विराटनगर महानगरमा जनश्रमदानबाट विकासनिर्माणका कुनै काम गरेको देखिएको छैन । प्रदेश र संघीय सरकारले जनसहभागितामा आधारित कुनै काम गराएको छैन । वैदेशिक सहयोगको मुख ताक्ने, अरुले दिएको सहयोगमा पनि भ्रस्टाचार गर्ने हाम्रो गलत प्रवृत्तिले विकासनिर्माणका काम समयमा सम्पन्न हुन सकेका छैनन् । ठूला, ठूला विकासनिर्माणका काममा प्राप्त हुने कमिशनको लोभमा राजनीतिक दलका शीर्ष नेता अझै ¥याल चुहाइरहेका छन् । यस्ता कामबाट प्राप्त भएको कमिशनले कुनै थप काम भएको वा गरेको र राज्यको खातामा रकम जम्मा गरेर सावैजनिक गर्ने नेता नदेखिनु हाम्रा लागि दुर्भाग्य नै हो । माउन्टेन टेलिभिजनका लागि राजनीतिक व्यूरोको रिपोर्ट । ०००




