बैशाख ११ बिहिबार ।
सर्वाधिक चासोको विषय रहेको विद्यालय शिक्षा विधेयकलाई लिएर अहिले आम शैक्षिक हड्ताल गरेर देशभरका शिक्षकहरू सडक आन्दोलनमा छन्। यसले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, पठनपाठन र कक्षा १२ को परीक्षा अवरुद्ध भइरहँदा पनि सरकार र शिक्षक आआफ्नै अडानमा अडिक रहँदा यो शैक्षिक अवरोध लामै समय चल्ने देखिन्छ । शिक्षामन्त्रीको राजीनामा र नयाँ शिक्षामन्त्रीको नियुक्तिले तरङ्ग ल्याएको छ।
सबैभन्दा लामो समयको र सबैभन्दा बढी उपस्थित सङ्ख्या भएर पनि आन्दोलन अहिलेसम्म सभ्य, अनुशासित र मर्यादित नै छ। शिक्षकहरू कविता गीत गाउने, दिउँसै बत्ती बाल्ने, सिट्टी बजाउने, रक्तदान गर्ने जस्ता रचनात्मक स्वरूपमा प्रदर्शन गर्दैछन्। यस्तै रचनात्मक स्वरूपको आन्दोलनले पनि दवाब भने सिर्जना गरेको देखिन्छ । अघिल्लो आन्दोलनमा शिक्षकसँग सहमति गरिएको समयबाट हेर्ने हो भने समितिले १८ महिनामा गरेको दोब्बर भन्दा बढी काम यो सडक आन्दोलन सुरु भएको १८ दिनभन्दा कम समयमा गरेको छ। आन्दोलनसम्म ३८ वटा दफा टुङ्ग्याएको समितिले सडक आन्दोलन सुरु भएपश्चात १०० वटा भन्दा बढी दफा टुङ्ग्याएको छ। तर आन्दोलन भन्ने बित्तिकै तोडफोड र आक्रमण मात्रै देखेका कतिपयले भने यसलाई आन्दोलन नै मानेका छैनन्।नेपाल शिक्षक महासंघले बिदाको समयमा पढाएर यो आन्दोलनको क्षतिपूर्ति गर्ने बताए पनि बताए पनि सडकमा रमाइलो नाचगान गरेर विद्यार्थीको पढाइ बिगारेको उनीहरूको आरोप छ। माग र मुद्दा गलत नदेखेपछि व्यक्तिगत र विद्यालयगत कमजोरी खोजेर यो विद्यालयको हालत यस्तो छ वा यो शिक्षक यस्तो छ अझै आन्दोलन भन्ने जस्ता कुरा उठाएर विरोध गरेको पाइन्छ । उनीहरूले पनि बुझ्नुपर्ने कुरा के हो भने कुनै शिक्षक वा कुनै विद्यालय शैक्षिक ट्रयाकमा छैन भने पनि उनीहरूलाई ट्र्याकमा डोर्याउने भनेकै ऐन कानुन र नियमले हो । क्षमता नभएका शिक्षक छन् भने उनीहरूलाई बिदाई गरेर कसरी क्षमतावान व्यक्तिलाई शिक्षकमा ल्याउन सकिन्छ भन्ने पनि ऐनमा व्यवस्था गर्न सकिन्छ। प्रस्तावित ऐनमा यो छ पनि । यसकारण भएका विकृति र भद्रगोल हटाएर शैक्षिक क्षेत्रलाई व्यवस्थित र उत्पादनमूलक बनाउन पनि नयाँ शिक्षा ऐन अनिवार्य शर्त नै हो।
त्यसैले दीर्घ दृष्टिकोण राख्न सक्नेले अहिले २० दिन विद्यालय बन्द हुँदा पर्ने क्षतिभन्दा अग्रगामी शिक्षा ऐनले ल्याउने आगामी २० औँ वर्षसम्मको सुनौलो शैक्षिक भविष्य देख्न सक्नुपर्छ। बरु नयाँ शिक्षा ऐनमा के के कुरा समेट्नुपर्ने हो र के के कुरा हटाउनुपर्ने हो त्यसकै लागि लेख्ने,बोल्ने के के गर्नुपर्छ गरेर दबाब दिनुपर्छ । नयाँ शिक्षा ऐन नै आवश्यक छैन जसरी यो आन्दोलनकै विरोध गर्नु चाहिँ गलत हो। हामी शिक्षक समग्र नेपालकै शैक्षिक भविष्य कोर्ने महाअभियानमा छौँ। केही समयको तलब काटिँदैमा वा कसैको आलोचना गाली सुन्दैमा त्यसले केही फरक पर्दैन । यति सहन हामीले पनि सक्नुपर्छ। संविधान बनेको ३ वर्षभित्र बनिसक्नुपर्ने ऐन आज दशक कटिसक्दा पनि बनेको छैन। आधा शतकभन्दा पुरानो पञ्चायतकालीन थोत्रो शिक्षा ऐनले नेपालको शैक्षिक जगत अब अगाडि बढ्न सक्दैन। नयाँ शिक्षा ऐन त बनाउनु नै छ शिक्षकले पनि नयाँ शिक्षा ऐन बनेसँगै विद्यालय फर्केर थप ऊर्जाका साथ पढाउँछौँ भनेकै छन् । त्यसैले सिघ्रातीशिघ्र बिद्यार्थी, शिक्षक र अभिभावक मैत्री शिक्षा ऐन जारी गर्ने सुनिश्चित गरेर शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाइयोस्।




