२०८१,१२,२३
प्रधानमन्त्री ओलीले आफ्नो थाइल्याण्ड भ्रमणका क्रममा द्विपक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन्। थाइल्याण्ड भ्रमण पूरा गरी शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ति त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताए। परराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा द्विपक्षिय आर्थिक दायरा विस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताएका छन ।
उनले नेपालका तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्याण्ड भ्रमण भएको बताएका छन । उनले थाइल्याण्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवं प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताए। उनले नेपाल र थाइल्याण्डबीच दुईवटा र निजी क्षेत्रका व्यवसायीबीच आर्थिक लगानीका विषयमा सहकार्य गर्न ६ वटा सम्झौता भएको बताएका हुुन ।
प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्याण्डको प्रख्यात सूचना प्रविधि संस्था एशियन इन्स्टिच्युट टेक्नोलोजी एआइटीमा सम्बोधन गरेका छन ।
उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उनले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पुर्याउन प्रधानमन्त्री ओलीले प्रेरित गरेको बताए। सचिव राईले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विमस्टेक राष्ट्रका समकक्षीहरूसँग छुट्टाछुट्टै भेट गरी द्विपक्षीय आपसी सम्बन्ध र हितका विषयमा कुराकानी र छलफल भएको जानकारी दिएका हुुन ।