फागुन १३ बुधबार ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएपछि सडक हुँदै संसद्मा समेत सरकारको विरोध भएको छ ।सामाजिक सञ्जाल र सडकमा चर्को विरोध भइरहेकोमा आज विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरे ।
बैठक शुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
यस्तै घिसिङलाई हटाएको विरोधमा विपक्षी दलहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका केही नेता कार्यकर्ताले समेत घिसिङलाई हटाएकोमा विरोध गरेका छन् ।
विपक्षी दलका भातृ सङ्गठनसहितले काठमाण्डौमा प्रदर्शन गरेका छन् । उनीहरूले हिजो बेलुका मसाल जुलुससमेत निकालेका थिए । आज पनि विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन भएको छ ।