चैत ८ शुक्रबार ।
इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त हुनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुख रोनेनलाई पदमुक्त गर्नुभएको बीबीसीले जनाएको छ ।
पछिल्लो मन्त्रिपरिषद्को बैठकले उनलाई हटाउने औपचारिक निर्णय गरेको हो । ‘शिन बेट’ इजरायलको आन्तरिक गुप्तचर निकाय हो । यो निकायले युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा प्रधानमन्त्री नेतन्याहू र रोनेनबीच गम्भीर मतभेद थियो ।
रोनेन सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि शिन बेट प्रमुखमा नियुक्त हुनुभएको थियो । रोनेनले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिनुभएको छ । गएको मङ्गलवारदेखि इजरायलले प्यालेस्टाइनमा रहेको ठानिएका हमासका निसानामा चरणबद्ध आक्रमण गरिरहेको छ । यो कदमले दुई महिनादेखि चल्दै आएको युद्धविराम भङ्ग भएको छ ।