काठमाडौं, १८ माघ । प्रदेश नम्बर ३ को सभामुख चयनका लागि यही माघ २७ गते निर्वाचनको मिति तय गरिएको छ ।
बिहीबार बसेको प्रदेश नम्बर ३ को पहिलो बैठकले सभामुख चयनका लागि यही माघ २७ गते निर्वाचन गर्ने गरी मिति तोकेको हो । जेष्ठ सदस्यको हैसियतमा बैठक संचालन गरेका डोरमणि पौडेलले प्रदेशसभा संचालन अन्तरिम नियमावलि २०७४ को दफा ६ को उपदफा १ बमोजिम सभामुखको निर्वाचनका लागि माघ २७ गते अपरान्ह ३ बजेको समय तोकेका हुन् ।
यसअघि बैठकले प्रदेशसभा संचालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई बहुमतले पारित गरेको थियो । सोही कार्यविधिको दफा ५ को उपदफा ३ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा कार्य संचालन गर्नका लागि रामेश्वर फुयाँल, शोभा शाक्य, गिता वाग्लेलगायत ४ जना सदस्य पनि बैठकले चयन गरेको छ । अर्को बैठक माघ २७ गतेका लागि तोकिएको छ ।