पौष २६ शुक्रबार
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
उनीविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुन लागेका हुन।अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर लामिछाने हिजो बेलुकी कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन।लामिछानेसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई रू ६५ लाख, छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, मीना गुरूङलाई रू पाँच लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङलाई रू पाँच लाख र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।