नेपाल–भारत वाणिज्य बैठकमा पारवहन सम्झौताका समस्या समाधान गर्छौँ,उद्योगमन्त्री भण्डारी | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

नेपाल–भारत वाणिज्य बैठकमा पारवहन सम्झौताका समस्या समाधान गर्छौँ,उद्योगमन्त्री भण्डारी

२०८१,९,२३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलता समाधान गरिने बताएका छन्।

सोमवार नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले ४ वर्षयता हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक यही पुस २५ र २६ गते काठमाडौँमा हुने तय भएको छ।

‘नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा ४ वर्षदेखि हुन सकेको थिएन। बीचमा भर्चुअल बैठक बसेको थियो। त्योभन्दा बाहेक अर्को बैठक बस्न सकेको थिएन। सरकारले बैठकमो मिति तय गरेको छ । जुन पुस २५ र २६ गते काठमाडौँमा हुनेछ‚’ उनले भने, ‘पूर्वतयारीहरु पूरा भइसकेका छन्। निजी क्षेत्रसँग पनि छलफल अघि बढाएका छौं । नेपाल र भारतबीचको व्यापारका क्षेत्रमा आएका समस्याहरुमा खुला रुपमा छलफल गर्छौं। समस्याको साधान दिएर अघि बढ्छौँ।’

उनले बैठकमा नेपाल र भारतका बीचमा व्यापार पारवहनमा रहेका जटिलता र समस्या समाधान गर्नेगरी छलफल गर्ने बताए। उनले भारतसँगको व्यापारमा गुणस्तर प्रमाणपत्रमा देखिएको समस्या सरकारले समाधान चाहेको बताए।

उनले नेपाल र भारतबीचको व्यापारका क्षेत्रमा आएका समस्याहरुका विषयमा बैठकमा खुला छलफल हुने जानकारी दिए। उनले नेपाल र भारतबीचमा ल्याण्डलकका समस्या र नेपालले प्राप्त गर्नुपर्ने सामुन्द्रिक सतह र सुख्खा बन्दरगाहमा तेस्रो मुलुकमा निर्यात गर्दा पाउने अधिकारका विषयमा पनि छलफल हुने बताए।

‘नेपाल र भारतबीचमा ल्याण्डलकका समस्या र नेपालले प्राप्त गर्नुपर्ने समुन्द्रिक सतह सुक्खा बन्दरगाहमा तेस्रो मुलुकमा निर्यात गर्दा कहाँ अधिकार पाउने विषयमा पनि छलफल गर्नेछौँ‚’ उनले भने, ‘भारतसँगको व्यापार आयात र निर्यातको विषयमा नयाँ चरणबाट अघि बढ्छौँ। नेपाल र भारत सरकारबीच व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई उच्च स्तरमा समाधान गर्ने तयारी छ।’

उनले नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरु अलैँची, जुट, चिया र अदुवा जस्ता वस्तु निर्यातमा रहेका समस्या समाधानका विषयमा पनि छलफल गरिने बताए।

उनले भारतसँगको व्यापार आयात र निर्यातको विषयमा नयाँ चरणबाट अघि बढ्ने बताए। उनले नेपाल र भारत सरकारबीच व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई उच्चस्तरमा समाधान गर्ने तयारी रहेको बताए। उनले सरकारले निर्यात प्रवद्र्धनको लागि कोशिस गरिरहेको बताए।

उनले चीनमा रातो मासु निर्यातको लागि सम्झौता गरिसकेकाले त्यसको सदुपयोग निजी क्षेत्रले गर्न आवश्यक रहेको बताए। उनले नेपालमा उत्पादित वस्तुहरुको कच्चा पदार्थ निर्यात प्याकेजिङ र ब्राण्डिङ गरेर गर्न आवश्यक रहेको बताए।

उनले नेपालको निजी क्षेत्रले निर्यात भइरहेको चियालाई प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेको बताए। उनले अदुवा, चिया‚ अलैँची निर्यात गरिरहेका वस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेका कारणले निर्यात व्यापार सुस्ताएको बताए।

उनले नेपालको उच्च गुणस्तरको कफी निर्यात पनि बोरामा राखेर निर्यात गर्ने गरेको भन्दै प्याकेजिङ र ब्राण्डिङ गर्न आवश्यक रहेको बताए।

मन्त्री भण्डारीले नेपाली बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने गरी सरकारले तयारी गरिरहेको दावी पनि गरे। उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताए।

उनले लगानीको मुनाफा सुनिश्चित गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए। मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजीक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए। सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यावहारिक र व्यावसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);