कार्तिक २, शुक्रबार
महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरे । सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताउनु भयो । उहाँले यातायातको सुविधा निःशुल्क रुपमा उपलब्ध गराउनसके मात्रै पनि धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्झौताको पूर्ण कार्यान्वयन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायातमा स्वास्थ्य स्वयंसेवीहरुलाई निःशुल्क यातायात चढ्न दिँदा यातायात व्यवसायीहरुको शिर उँचो भएको बताउनु भयो । उहाँले १२ खर्ब बढी लगानी भएको सार्वजनिक यातायातमा १५ लाख प्रत्यक्ष श्रमीकले रोजगार पाएको बताउनु भयो ।
कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवी संघकी अध्यक्ष वसन्ती महर्जनले नेपालभरका महिला स्वास्थ्य स्वयंसेविकाको लागि आफ्नो जिल्ला जिल्लामा निःशुल्क रुपमा यातायात चढ्न पाउने कुराको सम्झौता हुँदा खुशी लागेको बताउनु भयो । उहाँले लामो समयपछि महिला स्वयंसेविकाहरुलाई बल्ल जग खनेर बसोवास शुरु भएको जस्तो महशुस भएको बताउनु भयो ।
महिला स्वास्थ्य स्वयंसेविकालाई ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले जीविकोपार्जन गर्नसक्ने वातावरण बनाइदिन मन्त्री पौडेलसँग आग्रह गर्नुभयो । उहाँले महिला स्वयंसेविकालाई खटिएको दिनको दुई हजार रुपैयाँ दिने व्यवस्था गर्न मन्त्री पौडेलसँग माग गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायातको सेवा कार्तिक १५ गतेबाट शुरु हुनेछ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ । यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने उल्लेख गरेको छ ।