काठमाडौं, १६ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनमा परेको करिव दुई बर्षपछि नेपाली क्रिकेटको विवाद समाधान हुने भएको छ ।
आईसीसी प्रतिनिधिमण्डलसँगको बैठकपछि नेपाली क्रिकेटसँग जोडिएका विवादले निचोड लिनसक्ने देखिएको हो । आईसीसी प्रतिनिधिसँगको बैठकमा सरोकारवालाहरु विवादका बिषयमा केहि लचिलो बनेका छन् ।
आईसीसीसँगको बैठकपछि राष्ट्रिय खेलकुद परिषदले आधिकारिक धारणा राख्दै आज पत्रकार सम्मेलनमा सबै पक्ष लचिलो देखिएकाले नेपाली क्रिकेटले नयाँ मोड लिने अपेक्षा गरेको छ । आईसीसीले विधान पुनः संशोधन गरेर पाँच सदस्यीय अनुगमन समिति गठन गर्ने भएको छ ।
अहिलेको निर्वाचित क्यानले बिधान पारित गरेपछि यो समिति स्थापित हुनेछ । जसले चार महिना भित्रमा क्यानको जिल्ला निर्वाचनको अनुगमन गर्ने र बैधानिक रुपमा भए–नभएको पत्ता लगाउनेछ ।
यो कमिटीमा तीन जना आईसीसीबाट, एक एक जना सल्लाहकार समिति र क्यानबाट बस्नेछन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले यसअघि जे भएपनि अब सच्चिएर नगए आईसीसीका साथै आफूले पनि कडा कदम चाल्ने बताए ।
यस्तै सल्लाकार समितिका संयोजक विनयराज पाण्डेले आइसीसीले उठाएका चासोहरु सम्बोधन गरिएको र अब पनि सहमती अनुसार नगए आईसीसीले कुनै पहल नगर्ने स्पष्ट पारे ।
निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेटको निलम्बन फुकुवा गर्नु आफूहरुको मुख्य योजना रहेको भन्दै सबै बाधा अड्चनलाई पछि पार्दै काम गर्ने बताए ।
अनुगमन समितिमा को को रहने भन्ने तय भैसकेको छैन । यसका साथै अनुगमन समितिको समयतालिका पनि अझै आइसकेको छैन । जुन सहमति भएको छ त्यसलाई कार्यान्वयनमा लान अझै दुई महिना जति लाग्ने बताइन्छ ।