२०८१ श्रावण १३ नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो खेलमै पराजित भएका छन् ।
प्रारम्भिक चरण अन्तर्गत शनिबार राति भएको खेलमा २४ वर्षीय स्यान्टु सेनेगलका खेलाडी ३२ वर्षीय इब्राहिम डियाबसँग ४–० ले पराजित भएका हुन् ।
पहिलो गेममा स्यान्टुले इब्राहिमलाई कडा टक्कर दिएका थिए । तर १०–१० को अवस्थाबाट इब्राहिमले लगातार दुई अंक जोड्दै पहिलो गेम १२–१० ले आफ्नो पक्षमा पारे ।
दोस्रो गेममा इब्राहिम हावी बन्दै ११–३ ले आफ्नो पक्षमा पारे । तेस्रो गेममा पनि लय कायम राख्दै इब्राहिमले ११–४ ले जिते । चौथो गेम ११–५ ले जित्दै इब्राहिमले खेल सहजै जितेका हुन् ।
इब्राहिमले अब राउण्ड अफ ६४ मा हङकङका वाङ चुङसँग खेल्नेछन् । छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्दै इतिहास रचेका स्यान्टुको ओलम्पिक यात्रा भने पहिलो खेलबाटै समाप्त भएको छ ।
यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । श्यान्टुले घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई हराएर स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका थिए ।
श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी समेत हुन् । ०००