सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका प्रतिनिधिहरुबीच कार्यादेशमा सहमति नजुट्दा अघिल्ला बैठक निष्कर्षविहीन हुँदै आएका छन् ।

मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्षलाई कार्यादेशको मस्यौदा ल्याउन भनेको छ ।

मंगलबारको बैठकपछि कार्यदलका संयोजक एवम् कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कांग्रेस लचक बनेको भन्दै अबको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैले आजको बैठकलाई चासोका साथ हेरिएको छ । कार्यदलमा नेकपा एमालेबाट पदम गिरी र महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपा नेता शिशिर खनाल हुनुहुन्छ ।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा सहमत छैनन् ।

कार्यदलले कार्यादेश टुंगो लगाउन नसक्दा संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ । संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।०००

Leave a Reply