चालू आर्थिक वर्षको ९ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैंया पुगेको छ ।
आर्थिक वर्ष ०८०÷८१ को साउनदेखि चैतसम्म ९ महिनामा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब रुपैंया पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
९ महिनामा कुल वस्तु आयात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल वस्तु आयात २ दशमलब ८ प्रतिशतले कमी आई ११ अर्ब ६७ अर्ब ३७ करोड रुपैयाँको आयात भएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव १ प्रतिशतले कमी आएको थियो । भारत र अन्य मुलुकबाट भएको आयात घट्दा चीनबाट बढेको छ। भारतबाट भएको आयात ३.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २२.६ प्रतिशतले घट्दा चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाईजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडालगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान तथा चामललगायत वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु निर्यात ३.७ प्रतिशतले घटेर १ खर्ब १३ अर्ब ९५ करोड रुपैयाँ बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यातमा कमी आएको छ भने चीनतर्फ २३२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, तयारी पोशाकलगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, चिया, जुटका सामानलगायतको निर्यात घटेको छ । ०००