बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

बालमन्दिरको तर्फबाट बिहीबार नै सीआईबीमा जाहेरी पनि परेको छ । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाइसकेको छ ।

सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन । बिहीबार भने बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रूपमा अनुसन्धान र मुद्दाको प्रक्रिया अगाडि बढेको सीआइबीले जनाएको छ ।

बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको छ ।०००

Leave a Reply