बालमन्दिर जग्गा अनियमितता प्रकरणः वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने, सयौं विद्यार्थीको भविष्य अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बालमन्दिर जग्गा अनियमितता प्रकरणः वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्द हुन सक्ने, सयौं विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं,२९ फागुन । बालमन्दिरका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रभावमा पारी वृहस्पति विद्या सदनले ५२ वर्षसम्म गरेको पूरक सम्झौता रद्द हुने देखिएको छ। सो सम्झौता रद्द हुनासाथ वृहस्पतिले जग्गा लिजमा लिनेसम्बन्धी नयाँ प्रक्रिया शुरू गर्नुपर्ने हुन्छ।

नयाँ प्रक्रिया थालिए वृहस्पतिले ती जग्गाहरू पुनः लिजमा नपाउन पनि सक्छ । जसका कारण वृहस्पतिले त्यहाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिन हुने र सयौं विद्यार्थीको भविष्यसमेत अन्योलमा पर्न सक्ने बताइएको छ।

बालमन्दिरका तत्कालीन पदाधिकारीहरूले विभिन्न प्रभावमा परी विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनलाई बालमन्दिरको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा ५२ वर्षसम्म लिजमा दिने गरी सम्झौता गरेका थिए।

२०७२ सालमा पूरक सम्झौताका नाममा ५२ वर्षसम्म जग्गा लिजमा दिँदा बालमन्दिर र वृहस्पति विद्या सदनका अधिकारीहरूबीच ठूलो अनियमितता र आर्थिक लेनदेन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो सम्झौता रद्द गर्ने गरी छानबिन र कारबाही अघि बढाएको स्रोतले जानकारी दिएको छ।

अख्तियारका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने– ‘एउटै संस्थालाई बालमन्दिरको जग्गा ५२ वर्षसम्म लिजमा दिँदा ठूलो अनियमितता भएको पाइएको छ, त्यसैले अब सो सम्झौता रद्द हुने गरी कारबाही र छानबिन अघि बढाएका छौं। ’

स्रोतका अनुसार बालसंगठनकी तत्कालीन अध्यक्ष रिता सिंहलगायतका पदाधिकारीहरूले व्यापारिक घराना विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनलाई २०७२ सालमा पूरक सम्झौताका नाममा बालमन्दिरको २८ रोपनी ५ आना जग्गा विसं २१३२ सम्मका लागि प्रयोग गर्न दिनेगरी सम्झौता गरेका थिए।

त्यसरी बालसंगठनले हचुवाका आधारमा वृहस्पति विद्या सदनलाई ५२ वर्षसम्म जग्गा प्रयोग गर्न दिँदा ठूलो चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले यस विषयमा विस्तृत अनुसन्धान गर्दै आइरहेको हो। अख्तियारले तत्कालीन बालसंगठनका अधिकांश पदाधिकारीसँग बयान लिइसकेको र केहीसँग बयान लिन बाँकी रहेको बताइएको छ।

स्रोतका अनुसार लामो समयसम्म बालमन्दिरको नेतृत्वमा रहनुभएकी रिता सिंहकै पालामा बालमन्दिरको जग्गाको व्यापक दुरुपयोग हुँदै आएको थियो । उनीहरूले आफ्नो स्वार्थका लागि अनाथ बालबालिकाहरूलाई आश्रय दिने महत्वपूर्ण भूमिकामा रहेको बालमन्दिरलाई नै कन्तबिजोग अवस्थामा पुर्‍याएको हालका पदाधिकारीको भनाइ छ।

बालमन्दिरको कन्तबिजोग भए पनि बाल संगठनका तत्कालीन पदाधिकारीहरूलाई रिजाएर वृहस्पति विद्या सदनको नाममा अनियमित किसिमले जग्गा हत्याउने काम गर्दै आइरहेको व्यापारिक घराना विशाल ग्रुपको हाल त्यहाँ हालीमुहाली चल्दै आइरहेको छ।

उनीहरूले सो ठाउँमा ठूला ठूला भवनहरू बनाएर विद्यालय सञ्चालन गर्दै आइरहेका छन्। बालसंगठनको जग्गा ५२ वर्षसम्म हत्याउने वृहस्पति विद्या सदन र विशाल ग्रुपकै पदाधिकारीसँग पनि अख्तियारले बयान लिनुपर्ने र कारबाही गर्नुपर्ने बालसंगठनका हालका पदाधिकारीको माग छ।

अझै वृहस्पति विद्या सदनले अर्को पनि बद्मासी गरेको छ । बाल संगठनसँग आफूले लिजमा लिएको जग्गा सबलिजमा अर्को स्कुललाई दिइएको छ। पूरक सम्झौता रद्द भएमा वृहस्पति विद्या सदनले नियमविपरीत लिजमा दिएको राई स्कुलसमेत संकटमा पर्ने देखिएको छ।

अख्तियारका एक अधिकृतले शैक्षिक सत्र चालु भएकै अवस्थामा वृहस्पतिमाथि छानबिन थालिएको र बीचमा कारबाही गर्दा विद्यार्थीलाई समस्या पर्नसक्ने भएकाले शैक्षिक सत्र सकिएलगत्तै आवश्यक निर्णय गरिने बताए।

हालका पदाधिकारी पनि सम्झौता रद्द गराउने पक्षमा

बाल संगठनका हालका पदाधिकारीहरूले ५२ वर्षसम्मका लागि भएको पूरक सम्झौता रद्द हुनुपर्ने गरी गृहकार्य अघि बढाए पनि विभिन्न शक्तिकेन्द्रको दबाबका कारण उनीहरू सफल हुन सकेका छैनन् । यद्यपि, उनीहरूले आफ्नो प्रयासलाई जारी राखेको बताउँदै आएका छन् ।

अख्तियारले पनि पुराना सबै सम्झौताका बारेमा छानबिन गरिरहेकाले ५२ वर्षसम्म गरिएको सम्झौता रद्द गर्ने गरी अख्तियारबाट निर्णय आउनेमा पदाधिकारीसमेत विश्वस्त रहेको बताइएको छ।

अवैध सम्झौताका बारेमा काठमाडौं महानगरपालिका पनि गम्भीर

विशाल ग्रुपद्वारा सञ्चालित वृहस्पति विद्या सदनले ५२ वर्षसम्म हत्याएको अवैध सम्झौताका बारेमा काठमाडौं महानगरपालिका पनि गम्भीर देखिएको छ। महानगरपालिकाका एक अधिकारीका अनुसार एउटै निकायलाई लिज समय थप गर्दै ५२ वर्षसम्म दिने गरी पूरक सम्झौता गर्नुले गम्भीर अनियमितता भएको पुष्टि हुन्छ।

ती अधिकारीले यस विषयमा महानगरपालिकाले पनि गम्भीर छानबिन गर्नुपर्ने नागरिक दबाब परिरहेको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै गम्भीरतापूर्वक छानबिन गरिरहेकाले महानगर अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए।

 

सीआईबीद्वारा वृहस्पतिको कागजात नियन्त्रणमा

आश्रयविहीन बालबालिकालाई संरक्षण दिने उद्देश्यले बाल संगठनले सञ्चालन गरेको बालमन्दिरको जग्गा हिनामिना भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

बाल मन्दिरको जग्गा वृहस्पति विद्या सदन स्कुललाई ५२ वर्षका लागि लिजमा दिँदा बदमासी गरेको भन्ने उजुरीको आधारमा सीआईबीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सीआईबीका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

बाल संगठनको नाममा रहेको २८ रोपनी ५ आना जग्गा लिजमा दिँदा तत्कालीन बालमन्दिरका सञ्चालकले वृहस्पति विद्या सदन स्कुलका सञ्चालकसँग आर्थिक लाभ लिएर ५२ वर्षका लागि लिजमा दिएको भन्दै सरकारको विभिन्न निकायमा उजुरी परेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई छानबिनका लागि निर्देशन दिएपछि प्रधान कार्यालयले सीआईबीलाई खटाएको हो।

सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार अहिले जालसाजी गरी लिजमा दिएको कागजात नियन्त्रणमा लिएर छानबिन गरिरहेको र केही दिनमा नै अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी भइरहेको छ।

कसले कति रकम लिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै ती अनुसन्धान अधिकारीले भने –‘सम्झौता गर्दा आर्थिक चलखेल भएको प्रष्ट देखिएको छ।’ समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);